• ६ वैशाख २०८१, बिहिबार

विवादका कारण नौं ओभरमा झारिएको खेलमा काठमाडौं विजयी

blog

विराटनगरलाई हराएपछि काठमाडौंका खेलाडी । तस्बिर : सौजन्य क्यान

काठमाडौं, पुस १९ गते । विवादका कारण नौ ओभरमा छोट्ट्याएको नेपाल टी–२० क्रिकेट लिगमा मंगलबार काठमाडौं नाइट्स विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा काठमाडौंले विराटनगर सुपर किंग्सलाई ३४ रनले हरायो । 

आयोजक र फ्रेन्चाइज टोलीले पारिश्रमिक नदिएको भन्दै काठमाडौं र विराटनगरका खेलाडीले टस गर्न र खेल्न अस्वीकार गरेपछि खेल दुई घण्टा ढिलो सञ्चालन भएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता मुख्य आयोजनाको अधिकार दिइएको भारतीय कम्पनी ‘सेभेन थ्रीस्पोर्ट्स’ का मालिक र फ्रेन्चाइज टोलीलाई पैसा उपलब्ध गराउन निर्देशन दिने र त्यसको जिम्मा क्यानले लिने बताएपछि खेलाडी टस गरेर खेल्न मन्जुर भएका थिए ।


काठमाडौंले दिएको ९३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर ८.५ ओभरमा सबै विकेटको क्षतिमा ५८ रनमा समेटिएको थियो । विराटनगरका लागि गौरांशु शर्माले २२ रन बनाउनुभयो । विवेक यादवले १२ र नन्दन यादवले ११ रन बनाउनुभयो । बलिङमा काठमाडौंका कमल सिंह ऐरीले तीन विकेट लिनुभयो । सुनाम गौतम र अनिल खरेलले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित नौ ओभरमा पाँच विकेटको क्षतिमा ९२ रन बनाएको थियो । काठमाडौंका लागि सन्दीप रजालीले अविजित ३२ रन बनाउनुभयो । कमलसिंह ऐरीले अविजित १४, कप्तान ज्ञानेन्द्र मल्लले १४ र एलेक्स ब्लेकले १३ रन जोड्नुभयो ।


विराटनगरका लागि नन्दन यादवले तीन, हुसेन तलत र कियोन जोसेफले एक एक विकेट लिनुभयो । जितसँगै काठमाडौंले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल सकेको काठमाडौं आठ अङ्कसहित तेस्रो स्थानमा छ । समान खेलबाट चार अङ्क बनाएको विराटनगर पाँचौँ स्थानमा छ । 

खेल मिलेमतोको दावी 

काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो भएको दाबी गरिएको छ । लिगमा हरेक खेलको कमेन्ट्री गरिरहनुभएका सचिन तिम्सिनाले खेल मिलेमता भएको खुलासा गर्दै कमेन्ट्रीको काम छाडेको पनि बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत तिम्सिनाले खेल मिलेमतो भएको उल्लेख गर्नुभएको हो । ‘मैले मैदानमा धेरै यस्ता क्षण देखेँ । ती घटनाहरू विल्कुलै आश्चर्यजनक थिए । अहिलेसम्म नेपाली क्रिकेटमा यस्तो घटना देखिएको थिएन । नेपाली क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर म्याच फिक्सिङ गराउने क्रियाकलाप मैदानमा भइरहेको छ । टोलीमा विदेशी खेलाडीलाई कप्तान बनाएर म्यानेजरहरू नै बदनियतपूर्ण रूपमा म्याच फिक्सिङमा सक्रिय देखिएका छन्,’’ तिम्सिनाले भन्नुभएको छ । 


तिम्सिनाले आफूले घटनाबारे नेपाल क्रिकेट सङ्घ (क्यान), एन्टिकरप्सन अफिसरदेखि विभिन्न निकायलाई जानकारी गराए पनि कुनै कारबाही नभएको बताउनुभएको छ । उहाँले नेपाली क्रिकेट भ्रष्ट्राचारी र खेलमिलेमतो गर्नेको हातमा पुगेको समेत बताउनुभएको छ । 

क्यानले भारतीय कम्पनी ‘सेभेन थ्रीस्पोर्ट्स’ लाई आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने सम्झौता भएको छ । तर क्यानले पहिलो वर्ष नै सम्झौता अनुसार पाउनु पर्ने रकम नपाएको बताइएको छ । विवादका कारण पटक पटक सर्दै आएको नेपाल टी–२० लिग जारी रहँदै थप विवादमा परेको हो ।

फिक्सिङको अफर आयो : कप्तान मल्ल

विवादकै बीच काठमार्डौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नो टोलीका एक जना खेलाडीलाई खेल मिलेमतो (फिक्सिङ) गर्न प्रस्ताव आएको खुलासा गर्नुभएको छ । मंगलबार विराटनगरविरुद्धको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान मल्लले आफ्नो टोलीको एक खेलाडीलाई मिलेमतोको प्रस्ताव गरिएको बताउनुभएको हो ।


उहाँले खेलाडीको नाम भने खुलाउन चाहनु भएन । मिलेमतोको विषयमा आफुहरुले सम्बन्धित निकाय ‘एन्टीकरप्सन ब्युरो’ लाई जानकारी गराईसकेको पनि बताउनुभयो । पुस २७ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ ।

डबल राउन्ड रोबिनका आधारमा खेलाइने लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदीयमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक क्यानले जनाएको छ ।