• ११ मंसिर २०८१, मङ्गलबार

श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

blog

काठमाडौँ, पुस १९ गते । नेपालभाषा स्टार म्युजिकमा लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ। संसार क्रियसन्सद्वारा आयोजित नोमिनेसनको प्रमाणपत्र र मेडल वितरण गर्दै श्रेष्ठलाई सो सम्मान प्रदान गरिने जनाइएको छ। 

संसार क्रियसन्सका निर्देशक स्वतन्त्र महर्जनले विश्व रेकर्ड कायम गर्ने प्रयास अवार्डको पहिलो संस्करणमा सफल हुन नसके पनि अब दोस्रो संस्करणमा सफल बनाउने घोषणा गर्नुभयो। कार्यक्रममा ३२ वटा विधामा अवार्ड वितरण गरिने जनाइएको छ। प्रत्येक विधामा  १०/१० जनालाई समावेश गरिएको छ भने देशभक्ति र भजन सङ्गीतको विधामा  १५ जनालाई समावेश गरिनेछ। 

कार्यक्रममा संसार तेज स्मारक कला सम्मानमा पत्रकार श्याम स्मृत, निर्देशक पवन जोशी, सङ्गीतकार साथै तवला वादक मनराजा नकर्मी र गायिक निशा देसार र लहना मिडियालाई सम्मान गर्न लागिएको हो। संसार सप्तरङ्गी कला सम्मानबाट सङ्गीतकर्मी रत्न बेहोसी, कलाकार नगिना जोशी, सुशील राजोपाध्याय, गायक पवित्र कसाः, सङ्गीतकार गोविन्द ह्युमत, सङ्गीतकार एवं सङ्गीत संयोजक जुगल डङ्गोल, निर्देशक, कलाकार साथै सङ्गीतकर्मी रामकृष्ण खड्गीलाई सम्मान गरिनेछ। 

नेपालभाषाको गीत ‘सालूगु गाचा’ का लागि विशेष सम्मान गरिने भएको छ। अवार्डका लागि जम्मा ८५ वटा गीत दर्ता भएको आयोजकले जनाइएको छ। अवार्ड वितरण कार्यक्रम माघ २९ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुने जनाइएको छ।