नवीन शिशिर विक
बागलुङ, पुस १९ गते । गलकोट नगरपालिका–३ स्थित गोलकोट दरबार ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व र विश्वास बोकेको क्षेत्र हो। मल्लकालीन राजा जितारी बम मल्लले हटिया बजारदेखि पाँच किलोमिटर दक्षिण समुद्री सतहदेखि करिब एक हजार पाँच सय मिटरमाथि अग्लो ठाउँमा आवासीय तथा प्रशासनिक दरबार बनाउनुभएको थियो।
मल्ल राजाले त्यही दरबारसँगै हातहतियार राख्नका लागि सामरिक महत्वको कोत भवन निर्माण गर्नुभएको छ। उक्त कोतमा अहिले खड्गको थान र देवतीको थान छ। स्थानीय तथा ज्येष्ठ नागरिक शिवदक्त सुवेदीका अनुसार विक्रम सम्वत् १६३१ सालमा जितारी बम मल्ल पुरनकोट हुँदै गोलकोट पुग्नुभएको थियो। तत्कालीन राज्यले निर्माण गरेको दरबारलगायतका संरचना मासिए पनि हातहतियार राख्ने कोत अहिले पनि जीर्ण अवस्थामा छ।
सो कोत भवनमा खड्काको थान र देवतीको थानका साथै तत्कालीन समयमा प्रयोग भएका पुराना हातहतियार र सुरक्षाका औजारहरू सुरक्षित रूपमा राखिएका छन्। हातहतियारको धन्सारमा रहेको अर्काे चाखलाग्दो सामग्री हो ‘हिँड्ने ओदान’ । सुन्दा विश्वास नलाग्ने यस ओदानको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक घटनाक्रमसँग जोडिएको छ।
धन्सारमा थुनेर राखेको ओदान मानिसको दैनिक जीवनमा प्रयोग हुने र बजारमा पाइने मानव निर्मितभन्दा भिन्न प्रकृतिको छ। ओदानको बनोट नै आचार्यजनक रहेको कोत पूजा व्यवस्थापन समितिका सचिव गुञ्जबहादुर खत्रीले बताउनुभयो।
उक्त ओदानलाई स्थानीयले गर्भे ओदान नामकरण गरी राखेका छन्। साधारण ओदानको बनोट पहिले गोलाइ निर्माण गरेर पछि तीनवटा खुट्टा जडान गरिन्छ। गर्भे ओदान गोलाइ र खुट्टाको जडान समान प्रकृतिको रहेको स्थानीय सन्तबहादुर खत्रीले जानकारी दिनुभयो।
ओदानमा खुट्टाहरू जडान भएको भाग देख्न सकिँदैन। हाल गलकोट नगरपालिका–५, टेउवामा बसोबास गर्ने झङ्कबहादुर बस्नेतको पूर्खाले उक्त ओदान कोटघरमा बुझाएका थिए।
वि.सं. १७०० तिर बस्नेतका पुर्खालाई सपनामा एक योगले साँझ घाम नअस्ताउँदै डोला, हात्ती, घोडा बाजागाजाका साथ एक ठूलो वरीयात यहाँबाट (टेउवा) बाहिर जाँदै छ, सो वरीयतलाई तिमीहरूले कान्छी औँला काटेर रगत दिएपछि वरीयात यही रोकिन्छ र तिमीहरूलाई धन दौलत प्रसस्त हुन्छ भन्ने सपना दिएको किंवदन्ती छ।
झङ्कबहादुर बस्नेतका अनुसार टेउवामा बाजा बजेको सुनेपछि सपनाको दिछ्या पाएका पुर्खा टेउवा पुग्दा योगीले सपनामा भने जस्तै दुलहीको डोली ल्याएजस्तै डोलख हात्ती घोडा भेडाको बथान बाजागाजाका साथ ठूलो वरीयात त्यहाँबाट निस्कन लागेको जस्तो देखे पनि वरीयातलाई रोक्न डराएछन्। वरीयात बाहिरिसकेपछि एउटा भेडा एक्लै खोच्याउँदै आएछ। पुर्खाले भेडो भए पनि छोप्नु प¥यो भनेर लौरोले हानेछन्। लौरोले हान्दासाथ त्यो भेडो ओदान बनेको कुरा स्थानीय झङ्कबहादुरले आफ्नो कोटको इतिहास नाम पुस्तकमा उल्लेख गर्नुभएको छ।
सोही ओदान घरमा लगेपछि सरसर हिँड्न थालेछ। यो देखेर पुर्खाले ओदानलाई घरको मनिखाममा लगेर बाँधेर राखेछन्। बाँधेर राख्दा पनि मनिखान नै तान्न लागेछ।
ओदानले मनिखाम तानेपछि घर नै भत्किन्छ भन्ने डरले तत्कालै गाउँले जम्मा भई धामी राख्दा धामीको मुखबाट ओदानले ‘म खड्का हुँ मलाई कोतमा लगेर राख’ भनेकाले सो ओदानलाई भोलिपल्टै कोत रहेको खड्काको थानमा लगेर राखिएको थियो।
हाल यस ओदानलाई शक्तिका रूपमा पूजा गरिन्छ। अन्य हतियारसँग राखेर शक्तिका रूपमा पूजा गर्दै आएको पूजा व्यवस्थापन समितिका सचिव खत्रीको भनाइ छ। चैतेदशैँ र वडादशैँमा विशेष पूजा गरिन्छ। ओदान कोतमा छोडे पनि बस्नेत जातिले ओदानको पूजा गरेका छैनन्।
बस्नेत जाति र राजाबीच विवाद भएपछि बस्नेतले ओदानको पूजा गर्न छोडेको झङ्कबहादुरले बताउनुभयो। राजा नै भएको हुँदा बस्नेत जातिलाई पूजाका लागि कोत आउन आग्रह गरेको सचिव खत्रीको भनाइ छ।