• ७ वैशाख २०८१, शुक्रबार

पछिल्लो एक वर्षमा ४२५ जना कोरोना सङ्क्रमितको मृत्यु

blog

काठमाडौं, पुस १८ गते । एक वर्षमा कोरोना सङ्क्रमणबाट ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक वर्षमा (सन् २०२२) मा ४२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । 

मन्त्रालयको तथ्यांकअनुसार सन् २०२२ जनवरीको पहिलो दिनसम्म ११ हजार ५९४ जनाको मृत्युभएको थियो । सोपछि एक वर्षमा ४२५ जना मृतक थपिएसँगै सङ्क्रमणबाट १२ हजार १९ ले ज्यान गुमाएका छन् । त्यसैगरी, एक वर्षमा दुई लाख २८ हजार ५८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ लाख ५३ हजार २१९ पुगेको छ । 

२०२२ मा नेपालमा ओमिक्रोनको सबभेरिएन्ट ‘बि’ फोर र ‘बि’ फाइफ र डेल्टा भेरिएन्ट फैलिएको थियो । सोही समय कोरोना तेस्रो लहरको रूपमा उच्च विन्दुमा पुगेको थियो ।  यो वर्ष सङ्क्रमण दर उच्च रहेको भए पनि विगतको तुलनामा अस्पतालमा भर्ना हुने दर र मृत्युदरमा कमीआएको डा. अधिकारीको भनाइ छ ।  

कोरोना सङ्क्रमणको हिसाबले उतारचढाव आए पनि अस्पतालका पूर्वाधार विकास र कोरोना विरुद्धको खोपको कभरेज बढाएको डा.अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “सन् २०२२ मा कोरोनाबाट अस्पतालमा भर्ना हुने दर र मृत्युदरमा कमी आएको छ । यसको प्रमुख कारण सरकारले सबै जनतामा खोप पहुँच बढाएको छ ।”

तीन करोड बढी मात्रा खोप 

सन् २०२२ मा सरकारले तीन करोड २४ लाख  ५० हजार ४६६ मात्रा खोप लगाएको तथ्याङ्क छ । यो सँगै मन्त्रालयले खोप अभियान सुरु भएदेखि अहिलेसम्म पाँच करोड ३५ लाख छ हजार  २०७ मात्रा खोप लगाइसकेको छ । जसमा कुल जनसङ्ख्याको ७९.५ प्रतिशतले एक मात्रा र ७६.५ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

१२ वर्षमाथिका लक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले एक मात्रा र ९५.७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । ७९ लाख ७२ हजार ७९१ जनाले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्क छ । 

कोरोना जोखिम कायमै 

नेपालमा सोमबार २४ घण्टामा ९६० को एन्टिजेन र पीसीआर परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २२ रहेको छ । नेपालमा कोरोना सङ्क्रमण जोखिम कम हुँदै गए पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो ।   

छिमेकी राष्ट्रहरू चीन र भारतमा ओमिक्रोनको सबभेरिएन्ट बिएफ ७ तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि पुनः कोरोना सङ्क्रमण फैलन डर बढ्दैगएको छ । नेपालमा हालसम्म यो भेरिएन्ट नफैलिए पनि खुला सीमा नाकाका कारण नेपालमा कुनै पनि समय भित्रिने जोखिम रहेको चिकित्सकको भनाइ छ ।  

भित्रिन नदिन कस्तो छ तयारी ?

मन्त्रालयले पछिल्लो एक महिनामा देशभरबाट ४८ वटा नमुनाहरूको जीन सिक्वासिङ गर्दा ओमिक्रानेका १७ वटा सबभेरिएन्ट पुष्टि भएको थियो । हालसम्म नेपालमा ओमिक्रोनको सब भेरिएन्ट बिएफ ७ पुष्टि भएको छैन । खुला सिमानाबाट मानिसको आवत–जावतका कारणले नेपालमा पनि यस सङ्क्रमणको जोखिम हुँदा यसको रोकथाम, नियन्त्रणका लागि सजक र सचेत रहन आग्रह गरेको छ ।  

कोभिड १९ को पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुहरूको ज्वरो नाप गर्ने, शङ्कास्पद व्यक्तिहरूको एन्टिजेन  टेष्ट र जिन सिक्वेन्सीङ गर्ने कार्य भएको डा.अधिकारीले बताउनुभयो ।  

यो भेरिएन्टलाई नजिकबाट अनुगमन गरेको पनि डा.अधिकारीले जानकारी दिनुभयो । 

अब महामारी फैलिहाले पनि महामारीको समयमा व्यवस्थापन गरेका अस्पतालका पूर्वाधार, स्वास्थ्यकर्मी सबैलाई व्यवस्थापन गर्दै अगाडि बढ्न गाह्रो नभएको डा. अधिकारीको भनाइ छ ।

खोप कार्यक्रम सबैको पहुँच बनाउन सरकारले थप खोप ल्याएर खोप लगाउने काम अघि  बढाएको छ । बुस्टर डोज पनि प्राथमिकताका साथ लगाइरहेकाले सबैलाई खोप लगाउन उहाँले आग्रह गर्नुभयो । 

बिएफ ७ कस्तो भेरिएन्ट हो ?

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरसले आफ्नो स्वरूप बद्लिरहने भएकाले यो भेरिएन्टबारे सबैको चासो छ । उहाँले भन्नुभयो, “चीनमा शून्यमा झरेको कोरोना सङ्क्रमण पुनः बढ्नुमा स्पष्ट कारण आइसकेको छैन । यो भेरिएन्ट कुन रूपमा फैलिएको छ भन्ने अध्ययन भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि यो भेरिएन्टलाई अध्ययनमा राखेको छ ।” 

धेरै नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेकोले यो भेरिएन्ट फैलिहाले  पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको डा. पुनको भनाइ छ । उहाँले भन्नुभयो, “धेरैले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । त्यसैले नेपालमा फैलिहाले पनि आत्तिइहाल्नुपर्ने अवस्था छैन, तर सचेत भएर जनस्वास्थ्यका मापदण्ड भने अपनाउनुपर्छ ।” 

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार यो भेरिएन्ट आउँछ भनेर डराइहाल्नुपर्ने अवस्था छैन ।  

उहाँले भन्नुभयो, “सरकारले सङ्क्रमित भएकाहरूको उचित उपचारको व्यवस्थापनमा ध्यान दिनुपर्छ । त्यस विषयमा अहिलेदेखि नै अध्ययन गरेर योजना बनाउनुपर्छ ।”  त्यसका साथै जिन सिक्वेन्सीङ गरी कोरोना कुन रूपमा फैलिएको छ भनेर अध्ययन गरी नाकाहरूमा परीक्षणको दायरा बढाउनु पर्ने उहाँको सुझाव छ ।  

बच्न के गर्ने ? 

अन्य कोरोनाका सबभेरिएन्टजस्तै यसले पनि वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा बढी जोखिम रहेकाले सचेत रहन डा. पुनको सुझाव छ । घाँटी दुख्ने टाउको दुख्ने, नाकबाट पानी बग्ने, नाक बन्द हुने जिउ दुख्नेजस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ ।  

त्यसका अलावा कोभिड सङ्क्रमणबाट बच्च र बचाउन माक्सको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, वा सेनिटाइजर नियमित प्रयोग गर्ने, जनस्वास्थ्यका मापदण्डहरू नियमित पालन गर्न गराउन चिकिकत्सहरुले आग्रह गर्नुभएको छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।