• ८ वैशाख २०८१, शनिबार

फार वेस्टलाई हराउँदै जनकपुर प्लेअफ नजिक

blog

फार वेस्टविरुद्ध ब्याटिङ गर्दै जनकपुरका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस १८ गते । जनकपुर रोयल्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफ नजिक पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले फार पेस्ट युनाइटेडलाई ८२ रनले हरायो । जितसँगै जनकपुर दोस्रो स्थानमा यथावत् छ । 

जितका लागि जनकपुरले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्ट १५.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो । फार वेस्टका लागि कप्तान हजमतुल्लाह शाहिदीले ३२ रन बनाउनुभयो । राशिद खानले अविजित १७ रन बनाउनुभयो । बलिङमा जनकपुरका समिउल्लाह शिनवारीले तीन विकेट लिनुभयो । सोमपाल कामी र पवन सराफले दुई दुई विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । जनकपुरका लागि सन्दीप जोराले ५५ रन बनाउनुभयो । उहाँ म्यान अफ दि म्याच घोषित हुनुभयो ।

कप्तान ट्राभोन ग्रिफिथले ३२, चाल्डिक वाल्टनले २४, सरफुदिन असरफले २० र राजेश पुलामीले १६ रन बनाउनुभयो । बलिङमा फार वेस्टका प्रकाश जैसीले तीन विकेट लिनुभयो । भुवन कार्कीले दुई तथा नुर अहमेदले एक विकेट झार्नुभयो । 

जितसँगै जनकपुरले सात खेलबाट १० अङ्क बनाएको छ । पराजित फार वेस्ट ६ खेलबाट दुई अङ्क जोड्दै तालिकाको अन्तिममा छ । लगातार हारले फार वेस्टको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । पुस २७ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ ।

डबल राउन्ड रोबिनका आधारमा खेलाइने लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदीयमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।