• २४ पुस २०८१, बुधबार

दूधको मूल्यवृद्धि फिर्ता लिन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ पुस १७ गते । राष्ट्रिय दुग्ध विकास बोर्डले वृद्धि भएको दूधको मूल्य फिर्ताका लागि आग्रह गरेको छ । केही निजी डेरीहरुले शनिवारदेखि लागु हुने गरी दूधको मूल्यवृद्धि गरेका छन् । मूल्यवृद्धिलाई लिएर पक्ष र विपक्षमा आलोचनात्मक टिप्पणी हुन थालेपछि राष्ट्रिय दुग्ध विकास बोर्डले आइतबार डेरी उद्योगीहरुलाई पत्र नै पठाएर सो आग्रह गरेको हो । 

कृषि मन्त्रालयका सचिवको उपस्थितिमा बोर्ड बैठक बसेको थियो । डेरी उद्योगी, विभिन्न सङ्घ, संस्थाको प्रतिनिधिसँग छलफल गरेर सो आग्रह गरिएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले बताउनुभयो । 

हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरी दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता आर्थिक अवस्थालाई ध्यानमा राखेर अध्ययन गरी यथाशीघ्र मूल्य समायोजन गर्ने सहमति भएको निर्देशक यादवले बताउनुभयो । 

बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घलाई आइतबार पत्र पठाएर मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको छ । 

डेरी उद्योगीले लिटरमा १४ रुपियाँ मूल्यवृद्धि गरेको छ । त्यसमा १२ रुपियाँ किसानलाई दिने र दुई रुपियाँ मात्र आफूहरुले राख्ने डेरी उद्योगीले दावी गरेका छन् । तर केन्द्रीय दुग्ध सहकारी सङ्घले डेरी उद्योगीले किसानलाई भन्दा आफ्नो फाइदाका लागि मूल्यवृद्धि गरेको दाबी गरेको छ ।