• ५ जेठ २०८१, शनिबार

बर्दिबासमा टोपी दिवस मनाइयो

blog

अंग्रेजी नयाँ वर्षको पहिलो दिन बर्दिबासमा टोपी दिवस मनाउँदै स्थानीय । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, पुस १७ गते । महोत्तरीको बर्दिबासमा विविध कार्यक्रम गरी सातौँ ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको छ । ‘नेपाली टोपी हाम्रो शान, पहिचान र स्वाभिमान’ नाराका साथ दिवस मनाइएको हो । 

राष्ट्रिय झण्डा र ढाका टोपीसहित सिन्धुली रोडबाट आइतबार बिहान स्वतःस्फूर्त ढङ्गमा सुरु भएको युवाहरूको ¥याली बर्दिबास तीनकुने चोकमा पुगी कोणसभामा परिणत भएको थियो । 

टोपी दिवस मनाउन स्थानीय युवा, व्यापारी, राजनीतिक कर्मी तथा सर्वसाधारणको सहभागिता थियो । नेपाली समाजमा बढ्दै गएको पश्चिमा संस्कृतिको प्रभावलाई दूर गरी नेपालीत्वको संरक्षण संवर्द्धन गर्ने उद्देश्यले २०७० देखि अङ्ग्रेजी सम्वत (एन्नो डोमिनी) को नयाँ वर्षको दिन पारेर बर्दिबासमा हरेक वर्ष टोपी दिवस मनाउन थालिएको हो । 

यहाँ मनाइएको टोपी दिवसमा सबै जातजाति, धर्म र भाषाभाषिको सहभागिता थियो । यो सहभागिताले नेपाली टोपी सबै नेपालीको साझा पहिचान र एकताको प्रतीक भएको सन्देश दिएको बर्दिबासका युवा निरोज अधिकारीले बताउनुभयो । 

टोपी दिवसले सबै नेपालीबीच भावनात्मक एकताको सन्देशसमेत दिने भएकाले बर्दिबासमा हरेक वर्ष यो दिवस मनाइने गरिएको सहभागीले बताउनुभयो । ‘नेपाली टोपी राष्ट्रिय पहिचान र स्वाभिमानको परिचायक भएकाले यसको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व हो’ अधिकारीले भन्नुभयो ।