• ११ मंसिर २०८१, मङ्गलबार

लोपोन्मुख हुँदै आइना–बातै

blog

गोकर्ण दयाल

बैतडी, पुस १६ गते । 

‘नपाया हर्जा हुन्या, 

पाया मुन्डा पड्डे, कि हो ?’ टोपी                         

‘बाइर हड्डी भितर मासु, 

मासु भितर आसुँई आसुँ, कि हो ?’ नरिबल–पानी

प्रश्न/उत्तर मिश्रित यी हरफ डोटेलीका आइना हुन् । आइना यहाँको हाजिरी जवाफ प्रतियोगिताजस्तै हो । पुस १५ गते राति घर परिवार र छरछिमेकी एकै ठाउँमा जम्मा भई शरीरलाई न्यानो हुने मीठो मसिनो मौलिक परिकार खाएर आइना र बातै हाल्ने चलन छ । बातै भनेको कथा हो । आइनामा सवाल जवाफ हुन्छ भने बातै एक जनाले भन्ने र अरूले सुन्ने गर्छन् । 

सुदूरपश्चिममा पुस १५ को रातलाई ठूली रात पनि भन्ने गरिन्छ । पुस १५ गतेका दिन छोटो र  रात लामो हुने जनविश्वास रहेको छ । पुसको राति कागलाई 

‘पौली जाने’ अर्थात् चिसोका कारण काग बेहोस हुने किंवदन्ती रहेको छ । यसै दिन तरुल खन्न जाने, परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा सक्खर र खुदो पकाएर खाने चलन छ । उखुको सक्खर र खुदो पकाउने स्थानलाई यहाँ ‘खुदेउडा’ भन्ने गरिन्छ । खुदेउडामा पनि गाउँले जम्मा भएर आइना–बातै हाल्ने चलन रहेको छ । यद्यपि सूचना प्रविधिको विकाससँगै नयाँ पिढीले आइना र बातै बिर्संदै गइरहेको संस्कृतविद् चन्द्रमोहन तिवारीले बताउनुभयो । 

उहाँका अनुसार अहिले पुसे १५ को मौलिकता हराउँदै गएको छ । तरुल, सक्खर लगायत मीठा परिकार खाएर मात्रै पुस १५ को मौलिकता जोगिँदैन । पुसे १५ सँग जोडिएको भाषा, संस्कृति नै रहेन । उहाँले भन्नुभयो, “नयाँ पिढीलाई आइना–बातै थाहा छैन । परिकार खाएर के गर्नु ? आइना बातैजस्ता कुरा टिकटक र फेसबुकले खाइसक्यो ।” 

पुुस १५ का दिन तरुल, सखरगञ्ज, फर्सीलगायतका कन्दमूल खाने चलन रहेको छ भने घिउमा पकाएका सेलरोटी, माँणा, बटुक, खिचडी खाने चलन रहेको छ । पुसे पर्वमा विवाहित छोरीबेटीलाई माइत बोलाएर स्वागत सत्कार गर्ने चलन रही आएको साहित्यकार कर्णदयाल सोराडीले बताउनुभयो ।