• १२ मंसिर २०८१, बुधबार

प्रचण्डलाई प्रधानमन्त्री नदिनु गल्ति : नेता कोइराला

blog

वसन्त पराजुली

भरतपुर, पुस १५ गते । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्वीकार गरेर कांग्रेसले गल्ति गरेको बताउनुभएको छ । 

भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै नेता डा. कोइरालाले सरकार बनाउन निर्णायक मानिएका प्रचण्डलाई प्रधानमन्त्री दिएर गठबन्धन जोगाउनु बुद्धिमानी हुन्थ्यो भन्नुभयो । सो कुरा कांग्रेस सभापति शेरबहादुर देउवाले बुझ्न नसकेको उहाँले बताउनुभयो । 

“प्रचण्डले प्रधानमन्त्री माग्नु भएको थियो, छोड्ने सम्भावना पनि थिएन” नेता कोइरालाले भन्नुभयो, “शेरबहादुरले दोस्रो कार्यकाल प्रधानमन्त्री बन्नेगरी प्रचण्डलाई प्रधानमन्त्री बनाएका भए राम्रो हुन्थ्यो, त्यो हुन नसकेरै कांग्रेस सत्ताबाट बाहिरिने अवस्था आयो ।”  

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जसरी पनि प्रधानमन्त्री चाहिइएको तर कांग्रेसले नस्वीकार्दा उहाँ अर्को खेमामा लाग्नु स्वभाविक भएको उहाँको भनाइ छ । “प्रचण्ड अर्को खेमामा गएर मलाई प्रधानमन्त्री दिनुस् भन्नुभयो, त्यो खेमाले स्वीकार ग¥यो, कुरा सकियो” कोइरालाले भन्नुभयो ।

सरकार गठनमा रणनीति अपनाउन पनि कांग्रेस असफल भएको उहाँको टिप्पणी छ । सरकार गठनमा सभापति देउवा रणनीति बनाउनबाट चुकेको उहाँले आरोप लगाउनुभयो । तर अहिले बनेको नयाँ सत्ता साझेदार नेतृत्वको सरकार पनि लामो समय नटिक्ने उहाँले दावी गर्नुभयो ।

“यो पनि गठवन्धन सरकार हो । धेरै समय टिक्ने सम्भावना छैन” नेता कोइरालाले भन्नुभयो, “यो सरकारको स्थिरता छैन । दुई वर्षभित्र फेरबदल हुने सम्भाबना देख्छु ।” 

अब कांग्रेस रचनात्मक प्रतिपक्षी भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । “विरोधका लागि विरोध हैन, गलत कामको बिरोध गर्छौं । जिम्मेवारीपूर्वक हाम्रो भूमिका निर्वाह गर्नेछौं” उहाँले भन्नुभयो ।