काठमाडौं, पुस १५ गते । ठमेल पर्यटन विकास परिषद्ले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यू इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरुलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गरेको बताउनु भयो । उहाँले महोत्सवले ठमेल जान, बस्न र घुम्नका लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने जानकारी दिनुभयो ।
सडक महोत्सव नगरिकन आम सर्वसाधारणहरुलाई ठमेल लैजान नसक्ने भनाइ उहाँको छ । अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक सांगितिक कार्यक्रमदेखि सांस्कृतिक सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिने पनि बताउनुभयो ।
अङ्ग्रेजी नयाँ वर्षको कार्यक्रममा एक लाख दर्शक भित्र्याउने अपेक्षा गरिएको छ । एक लाख दर्शकहरुको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको जानकारी पनि अध्यक्ष शर्माले दिनुभयो ।
सडक महोत्सवका लागि हरेक रेष्टुराहरुले आफ्ना प्याकेजहरु सामाजिक सञ्जालबाट जानकारी गराइसकेका छन् । सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष शर्माले सडकमा नै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाउने बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षको कार्यक्रम विगतकाभन्दा फरक र ठूलो हुने बताइएको छ ।
ठमेललाई पर्यटकीय नगरीको रुपमा सरकारले घोषणा गर्नुपर्ने उहाँको भनाइ छ । ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय नगरी बनाउन राज्यले पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
न्यू इयर इभ तथा ठमेल सडक महोत्सव २०७९ साल पुस १६ गते शनिबार ठमेल केशरमहल सञ्चय कोष अगाडि साँझ ५ः३० बजेबाट सुरु भइ मध्यरातिसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने आयोजकले जनाएको छ ।
महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, सांगितिक कार्यक्रम, ठमेलका व्यवसायीहरुले उत्पादन गरेका विभिन्न सामग्रीहरुको प्रदर्शन हुनेछ । परिषद्ले न्यू इयर इभ तथा ठमेल सडक महोत्सवका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।