• १० मंसिर २०८१, सोमबार

सहस्राब्दी पदमार्गको फेरो

blog

- कृष्णप्रसाद भुसाल

 प्रविधिको व्यापकता र व्यस्त जीवनशैलीका कारण प्राकृतिक वातावरणबाट हामी टाढा हुँदै गएका छौँ । हाम्रा अधिकांश सहरी क्षेत्र पर्याप्त खुला ठाउँ, बगैँचा, रुख, सफा नदी र प्रकृतीमैत्री संरचनाविहीन घरैघरले भरिएका घना बस्ती बनेका छन्, कतै बन्दैछन् । त्यसैले हामी प्रकृतिबाट टाढा कृत्रिम वातावरणमा कैद बन्दै गएका छौँ । यसको सबभन्दा ठूलो असर हुर्किंदो पुस्तामा परिरहेको छ । हाम्रा बच्चा बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टीभीमा झुम्मिएर बस्न वा प्लास्टिकका खेलौनासँग खेल्न बाध्य छन् । यसले बालबालिकाको चौतर्फी विकास हुनलाई मात्र रोकेको छैन, बिस्तारै प्रकृितबाट पनि उनीहरूलाई बिमुख बनाउँदै लगेको छ । 

रुख, वन, चरा, पुतली, जनावर, कलकल बग्ने झरना÷नदी केवल स्क्रिनमा मात्र उनीहरूले देख्न पाएका छन् । बालबालिका मात्र होइन, अन्य उमेर समूहका मानिस पनि स्वच्छ हावा लिँदै, चराको चिरबिर आवाज सुन्दै प्रभातकालीन र सन्ध्याकालीन पैदल यात्रा गर्न पाउँदैनन् । खासमा हामीले सहरमा स्वस्थ र गुणस्तरीय जीवनयापनका न्यूनतम मापदण्ड पनि कायम गर्न सकिरहेका छैनाँै । बच्चालाई दूध कहाँबाट आउँछ भन्यो भने डेरीबाट भन्छन्, चामल सोध्यो भने पसलबाट, रुख कस्तो हुन्छ भन्दा सजाउन राखेका प्लास्टिकका पूmल देखाउँछन्, माछा कहाँ बस्छ भन्दा एक्वारियममा भन्छन् । 

यस खालको सहरी व्यस्त दैनिकी र तनावबाट टाढा रहेर एकैछिन भने पनि प्रकृतिको नजिक पुगेर शारीरिक र मानसिक पुनर्ताजगी पाउन हाल ‘हाइकिङ’ र ‘ट्रेकिङ’जस्ता प्राकृतिक वातावरणमा पैदल यात्रा गर्ने लहर बढ्दो छ । स्वच्छ हावा लिँदै, मनोरम दृश्यावलोकन गर्दै, चराको चिरबिर आवाज सुन्दै उकाली–ओराली पैदल यात्रा गर्नका लागि ‘हाइकिङ’ तथा ‘ट्रेकिङ’ एक उत्तम विकल्प बन्दै गएका छन् । यसले देशको प्रकृति मात्र होइन, त्यहाँको भूगोल, समाज, संस्कृति र जनजीवन बुझ्न तथा सिक्न पनि मद्दत गर्छ । बिदाको दिन बिहान निस्केर दिनभरको पैदल यात्रापछि बेलुकी घरै फर्किन चाहनेका लागि ‘हाइकिङ’ पहिलो रोजाइ हुन सक्छ भने केही दिनको पैदल यात्राका लागि ‘ट्रेकिङ’ उपयुक्त हुन्छ ।

काठमाडौँ उपत्यका वरिपरि शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभीर, झोर, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, बुङ्मती, गोदावरी, फूलचोकी, लाँकुरीभन्ञ्याङ, साँगा, चाँगुनारायण, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, गुण्डु, ककनीजस्ता ठाउँ ‘हाइकिङ’का लागि परिचित छन् । त्यसैगरी मध्य पहाडदेखि उच्च हिमालसम्म पुग्न सकिने सयौँ पदमार्ग हाम्रो देशमा छन् र यी विश्वमै परिचित पनि छन् । 

पछिल्ला वर्ष यी क्षेत्रमा विदेशी पर्यटक मात्र होइन, स्वदेशी पर्यटक पनि व्यक्तिगत, संस्थागत र सामूहिक अभियानका रूपमा उल्लेख्य सङ्ख्यामा पदयात्रामा जाने गर्छन् तर अधिकांश पदमार्गमा यात्रा गर्न सबै उमेर समूह, मध्यम आय हुनेहरू र लामो समय फुर्सद निकाल्न नसक्नेहरूका लागि उपयुक्त नहुन सक्छ । यस्तो अवस्थामा एउटा छनोट हुन सक्छ– ‘सहस्राब्दी’ (मिलेनियम) पदमार्गको यात्रा ।   

सहस्राब्दी पदमार्ग तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म ७२ किलोमिटर दूरीको छ । दुलेगौँडा पृथ्वी राजमार्गमा पर्छ भने रामबाछा सिद्धार्थ राजमार्गमा । सन् २००० बाट सुरु भएकाले यस पदमार्गको नाम नै सहस्राब्दी पदमार्ग राखिएको हो । यो पदमार्ग समुद्रको सतहबाट ४२० देखि एक हजार ७०९ मिटरसम्मको उचाइमा रहेको छ । धेरै उचाइ तथा उकालो–ओरालो हिँडन नसक्नेहरूका लागि पनि यो पदमार्ग उपयुक्त छ । तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका भएर यो पदमार्ग गएको छ । बढीमा छ रात सात दिनमा सहजै यो पदमार्गको यात्रा सम्पन्न गर्न सकिन्छ ।  पदमार्गको कोल्माकोट, भैँसेगौँडा, फारथुँ, बुढाकोटलगायत स्थानबाट एकसाथ धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ«े, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । पदयात्राका क्रममा तरेली परेका महाभारतका पहाडी शृङ्खला, कालीगण्डकी नदी, आँधीखोला र अन्य साना नदीले बनाएका खोँच र बेँसीहरू, सूर्योदय र सूर्यास्तका मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । 

पदमार्ग क्षेत्रमा पर्ने धार्मिक एवं ऐतिहासिक स्थल, दृश्यावलोकन स्थल, घरबासलगायत विषयलाई समेटेर विस्तृत गुरुयोजना बनाइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुराताìिवक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा तथा अन्य वन्यजन्तु अवलोकन, मिलेनियम गुफा, थुम्काथुम्कीलगायतको संरक्षण र प्रवद्र्धनलाई गुरुयोजनाले मार्गदर्शन गरेको छ ।

गत कात्तिक महिनाको अन्तिम साता सहस्राब्दी पदमार्गको एक मुख्य आकर्षक स्थान स्याङ्जा पुतलीबजार नगरपालिका–२, राङभाङस्थित भैँसेगौँडामा पुग्दा प्राकृतिक विज्ञानका विभिन्न सङ्कायमा स्नातक र स्नातकोत्तर अध्ययनरत १३ जना युवा अनुसन्धातासँग भेट भयो । करिब तीन हप्ता लामो ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’मा भाग लिन यी युवा त्यहाँ जम्मा भएका थिए । गत १० वर्षको अवधिमा १२० भन्दा बढीले यो तालिम लिइसकेका छन् । 

प्रकृतिमै अभ्यास गराउँदै सिकाइने यस खालको वन्यजन्तु अनुसन्धान तालिमले नेपालको वन्यजन्तु, तिनको बासस्थान अनुसन्धान र संरक्षणको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको देखिन्छ । पछिल्ला चारवटा तालिममा यसै क्षेत्रमा भएका छन्; जसमा वरिष्ठ वन्यजन्तुविज्ञ प्राध्यापक करनबहादुर शाह, स्तनधारी जनावर तथा लाटोकोसेरोविज्ञ राजु आचार्य, पन्छीविद् सोम जी.सी., पुतलीविज्ञ सुरेन्द्र परियारलगायत अन्य विषयगत विज्ञले प्रशिक्षण दिँदै आउनुभएको छ ।  सहस्राब्दी पदमार्ग प्राकृतिक, सांस्कृतिक, पुराताìिवक, धार्मिक, ऐतिहासिक सम्पदाका साथै जैविक विविधतामा अनुपम मध्यपहाडी क्षेत्रको एक उत्कृष्ट पदमार्गका साथै वन, वन्यजन्तु, वातावरण र सामाजिक अध्ययनको क्षेत्रमा रुचि राख्नेका लागि खुला प्राकृतिक विश्वविद्यालय हो । तीन दिनसम्म युवा अनुसन्धानकर्तासँग चरा सर्वेक्षण गर्दा राङभाङ क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर, विश्वमै दुर्लभ गिद्ध र गोमायु महाचिलसहित १०३ प्रजातिका चरा अवलोकन ग¥यौँ । 

यस पदमार्ग क्षेत्रमा करिब ४५ प्रजातिका स्तनधारी जनावर, १७२ प्रजातिका चरा, ११५ प्रजातिका पुतली हालसम्म अभिलेख भइसकेका छन् । सांस्कृतिक रूपमा पनि धनी यस क्षेत्रमा मगर समुदायको सोरठी, यानीमाया, गुरुङ समुदायको घाँटु, ब्राह्मण, क्षेत्रीको बालनलगायत सांस्कृतिक नाच, परम्परागत बसाइ, प्रचलन तथा रहनसहन र मौलिक खेतीपाती तथा अन्न भण्डारका तरिकाहरू पनि भेटिन्छ । ठाउँ ठाउँमा घरबास (होमस्टे)को व्यवस्था भएको हँुदा स्थानीय समुदायसँग सँगै बस्न तथा घुलमिल हुन पनि सकिन्छ । 

पदयात्रा मार्गमा हाल १७ वटा होमस्टे सञ्चालनमा रहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो । यस पदमार्गमा हिँड्दा हरेक घण्टा फरक प्राकृतिक र भौगोलिक विशेषता र धार्मिक–सांस्कृतिक–ऐतिहासिक स्थल भेट्न सकिने हुँदा यात्रा रोमाञ्चक र जानकारीमूलक हुन्छ । शारीरिक कसरत र रमाइलो त भइहाल्छ, नयाँ ठाउँ, वनस्पति, जीवजन्तु र मानिसको जीवनशैलीबारे पनि धेरै कुरा बुझ्न सकिन्छ । 

यति हुँदाहुँदै पनि सहस्राब्दी पदमार्गको व्यापक प्रचारप्रसार तथा प्रवद्र्धनमा अभैm धेरै काम गर्नुपर्ने देखिन्छ । पर्यटकीय गन्तव्य र अनुसन्धान सम्भाव्यता बोकेका स्थानको पहिचान र थप अध्ययनको खाँचो छ । स्थानीय सरकार र सरोकारवाला निकायको समन्वय र सहकार्यलाई थप बलियो बनाउनुपर्छ । पदयात्रामा जानेहरूले पनि अनुशासित भएर यात्रा गर्नुका साथै स्थानीय संस्कृति, धार्मिक आस्था, जीवनशैली र गाउँलेको सम्मान गर्नैपर्छ । बोटबिरुवा नभाँच्ने, जङ्गली जनावरलाई नजिस्क्याउन, जथाभावी फोहोर नफ्याँक्नेजस्ता प्रकृतिमैत्री तथा उत्तरदायी क्रियाकलापको पनि पालना गर्नुपर्ने हुन्छ । सहरको धुवाँ–धुलो, कोलाहल र ध्वनि प्रदूषणबाट टाढा शरीरका तन्तु र अङ्गहरू चलायमान बनाउँदै हिमाली, पहाडी भू–दृश्य, प्रकृति, समाज, धार्मिक–सांस्कृतिक स्थल, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी हेर्न सहस्राब्दी पदमार्गको फेरो मार्न निस्कने होइन त ।