लक्ष्मी चौधरी
जनकपुरधाम, पुस १५ गते । खेतीयोग्य जग्गा फिर्ता पाउने आशासमेत मारिसकेका किसानले आफ्नो जग्गा फिर्ता पाई पुनः उपभोग गर्न पाउँदा धनुषाका किसान हर्षित देखिएका छन्।
मधेश प्रदेशको धनुषा जिल्लास्थित मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पर्ने सीमा स्तम्भ नं. २८८ देखि २८९/८ वरिपरिको जग्गा जमुनी नदीले बहाव परिवर्तन गर्दा नदीको सीमाना भारततर्फ पर्न गएको जग्गा फिर्ता हुने आससमेत मारेका किसानले पुनः आफ्नो जमिन उपभोग गर्न पाउँदा हर्षित देखिएका हुन्।
नेपाल तथा भारत दुवैतर्फका सीमा सुरक्षा बलको उपस्थितिमा दुवैतर्फका किसानले आफ्नो लालपुर्जाअनुसारको जग्गा उपभोग गर्न पाउने भनी यही पुस १२ गतेको निर्णयमा उल्लेख भएको मुखियापट्टी गाउँपालिका अध्यक्ष जयकुमार यादवले बताउनुभयो। फियान नेपालका मधेश प्रदेश संयोजक नन्दनी यादवले विगत एक वर्षदेखि उक्त समस्यामा परेका किसानहरूको पक्षमा अभियान चलाउने काम गरिरहेको बताउनुभयो।
विगत एक वर्षको पहलमा वडास्तरीय बैठकदेखि सीमा प्रभावित खाद्य अधिकार समूह पनि गठन गरेर त्यस्तो समूहलाई एकजुट बनाई वडादेखि पालिका हुँदै जिल्लास्तरसम्म भूमि फिर्ता गर्ने प्रयास सफल भएको छ, फियानका संयोजक यादवले भन्नुभयो। आफूले कर तिरेको जमिन पूर्ण रूपमा उपभोग गर्न पाउनुपर्छ भन्ने प्रयास सफल भएको छ उहाँले भन्नुभयो। यसमा नेपाल तथा भारतका सीमा सुरक्षाकर्मीहरूको पनि साथ सहयोग रहेको फियानका प्रदेश अधिकृत यादवले बताउनुभयो।
गाउँपालिका–२ स्थित नेपाल–भारत सिमानामा पर्ने उक्त नदीले बहाव परिवर्तन गर्दा १५ जना किसान प्रभावित बनेका थिए। आफूले कर तिर्दै र उपभोग गर्दै आएको खेतीयोग्य जमिन भारततर्फ पर्दा लामो समयसम्म हातमा लालपुर्जा हुँदा पनि भूमिहीन जस्तो भएर जीवनयापन गर्नुपरेको किसान भिखारी यादव भन्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “आस थिएन, यस जन्ममा यो जग्गा फिर्ता पाउँछाैँ भनेर, किनकि विगतमा धेरै प्रयास गरियो तर पनि कुनै उपाय लागेन। खोलावारिबाट आफ्नो जमिन टुलुटुलु हेर्दै बस्नुपथ्र्यो तर खाद्य अधिकार सम्बन्धी काम गर्ने संस्था फियान नेपाल, जिल्ला प्रशासन कार्यालय धनुषा, गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, वडा नं. २ का अध्यक्ष नरेश यादव, फूलगामाका इन्सपेक्टर हेमबहादुर श्रेष्ठलगायतको साथ र सहयोगमा आफ्नो जमिन पुनः उपभोग गर्न पाउँदा निकै खुसी लागेको छ। भिखारी यादवले तीन कट्ठा जग्गाको कर १० वर्षदेखि नेपाल सरकारलाई तिर्दै आए पनि उपभोग गर्न पाउनुभएको थिएन। विगतका दिनमा पनि सो जग्गामा खेती गर्न नपाउँदा निराशा भोग्नु परेको थियो तर लामो समयपछि पनि आफूले कर तिरेको जमिन भोगचलन गर्न पाउँदा निकै नै हर्षित भएको उहाँले बताउनुभयो।
अर्का किसान जिवछ यादव पनि आफ्नो जग्गामा आफैँले परिश्रम गर्न पाउने भएपछि खुसीको सीमा छैन भन्नुहुन्छ। खेती किसानीबाट घर गुजारा गर्दै परिवार पाल्ने जिवछ आफूले तिर्दै आएको करको जग्गा भारततर्फ पर्दा बीस वर्षसम्म परिवार धान्न धौधौ भएको बताउनुहुन्छ। करिब २० वर्षदेखि सीमाको जग्गा सम्बन्धी समस्या खेपिरहेका मुखियापट्टीका किसानले आफ्नो जग्गा उपभोग गर्न पाउँ भनी गरेको प्रयास सफल भएको छ। यस समस्याबाट नेपाल तथा भारतका किसान प्रभावित भएका थिए।