• २८ वैशाख २०८१, शुक्रबार

राहुघाट जलविद्युत आयोजनाले गति लियो (भिडियोसहित)

blog

आयोजना निर्माणस्थलमा तयार सुरुङमार्ग प्रवेशद्वार । भिडियो : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस १२ गते। म्याग्दीको रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएको छ। 

आयोजनाको अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको सुरुङ, बाँधस्थल र विद्युतगृह निर्माण एकसाथ अघि बढेको छ। 

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको ६ हजार २७० मिटर लामो सुरुङ मध्य तिनहजार सात सय मिटर सुरुङ निर्माण भइसकेको छ। 

आयोजनाको बाँधस्थल रघुगंगा ४ दग्नाम र वडा नम्बर ५ झिँको सिमाना बुग्लमा अर्धजलाशययुक्त बाँधको संरचनाका लागि यतिखेर फाउन्डेसन (जग) खन्ने काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर बिष्टले जानकारी दिनुभयो। 

बर्खायाममा पनि बाँधस्थलमा निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक संरचना निर्माण गर्न लागिएको आयोजनाका प्रोजेक्ट म्यानेजर बिष्टले जानकारी दिनुभयो। सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ गरिएको छ।

आयोजनाका प्रोजेक्ट म्यानेजरले दिएको जानकारीअनुसार तिल्केनीचौरमा विद्युतगृहको भवन निर्माणसँगै उपकरण जडानको तयारी थालिएको छ। २०२३ को अगस्टसम्म आयोजना निर्माण सक्ने गरी आयोजनाका सबै पक्षहरुबाट कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो। एक वर्षअघि सकिएको आयोजना निर्माणको म्याद कोरोना महामारी, बाढी पहिरोलगायतका कारण थप दुई वर्ष म्याद थपिएको आयोजनाले जनाएको छ।

असोजदेखि आयोजना निर्माणले गति लिएको उहाँको भनाइ छ। अब बर्खायाममा पनि बाँधस्थलमा निर्माणलाई निरन्तरता दिने गरी आवश्यक तयारी गरेका छौँ, आयोजनाका प्रोजेक्ट म्यानेजर बिष्टले भन्नुभयो, ‘बाँधस्थलमै क्रसर स्थापना गरी, आवश्यक सामग्रीको भण्डारण गरी निरन्तरता दिने योजनामा छौं।’



भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो। कूल ४५ महिनाको ठेक्का अवधिको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थपिएको हो। 

सुरुमा ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको छ। यसअघि आयोजना निर्माणको ठेक्का लिएको भारतीय ठेकेदार कम्पनी आईभीआरसीएल प्रोजेक्ट्स लिमिटेडसँग २०७५ मा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो।

आईभीआरसीएल टाट पल्टिएपछि चार वर्षमा १० प्रतिशत निर्माण गरेर ठेक्का छाडेर भागेको थियो। नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत सेयर लगानी हुने गरी २०७३ रघुगंगा हाइड्रोपावर लिमिटेड स्थापना गरी आयोजना अगाडि बढाइएको हो।

२०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँच मार्ग निर्माण गरी २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । बुग्लस्थित अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो।