• १९ असोज २०८१, शनिबार

पालिका कार्यालय भवन निर्माणमा ढिलाइ

blog

अर्जुन काफ्ले 

स्याङ्जा, पुस १२ गते । अर्जुनचौपारी र फेदीखोला गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि सम्झौता भएको एक वर्ष म्याद गुज्रिँदा पनि निर्माण कार्यमा ढिलासुस्ती भएको छ। दुवै गाउँपालिकाको कार्यालय भवन निर्माणको जिम्मा लिएको किराँतेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी सुकेधारा काठमाडौँले भवन निर्माणमा ढिलाइ गरेको हो। 

अर्जुनचौपारी गाउँपालिकाको २०७७ पुस १५ गते १५ महिनामा काम सक्ने गरी सम्झौता गरेकोमा उक्त भवन निर्माणको काम ८० प्रतिशत मात्र सकेको छ। छ करोड ५६ लाख २८ हजार ५३२ रुपियाँ निर्माणाधीन भवन लिफ्टसहित पालिकाले निर्माण अगाडि बढाएको हो। सो पालिकाको भवन साढे चार तला, एक हलसहित ३२ कोठाको रहेकोमा पेटी तथा माथिल्लो तलामा रहेको हलको काम अगाडि बढ्न सकेको छैन। भवनको भित्री भागको काम धेरै बाँकी रहेको छ। रङरोगन सुरु गरिएको छ। ३० रोपनी जग्गा नेपाल सरकारबाट भाडामा लिएर भवन निर्माणको थालनी गरिएको हो। 

निर्माण कम्पनीले बेलैमा भवन निर्माण नगर्दा यहाँका धेरै पालिका भाडामा बस्न बाध्य रहेका छन्। मासिक ७५ हजार खर्च पालिकाले बेहोर्नुपर्ने बाध्यता रहेको छ। यहाँको निर्माणमा सम्झौताताका मूल्य समायोजन गरेर २५ लाख थप भुक्तानी लगेको निर्माण कम्पनीले म्याद गुज्रेर थप समय पाएपछि काममा ढिलाइ गरेको हो। पालिका अध्यक्ष प्रकाश तिवारीले निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि ताकेता भइरहेको बताउनुभयो। 

यस्तै फेदीखोला गाउँपालिकाको समेत काम गरेको किराँतेश्वरले सम्झौता समय सकिन लाग्दा ५० प्रतिशत काम गरेको छ। २०७७ चैत ६ गते दुई वर्षमा काम सक्ने गरी निर्माणको काम थालेको कम्पनीले ५० प्रतिशत काम सकेको छ। लिफ्टसहितको पाँचतले भवन सात करोड ८६ लाख ८५ हजार ५२३ रुपियाँमा निर्माण सम्झौता गरेको थियो। भवन निर्माण सम्पन्न गर्न डेढ वर्ष लाग्ने पालिकाले बनाएको छ। कोभिड–१९ ले दुवै पालिकामा काम ढिलाइ भएको गुनासो पोख्दै निर्माण कम्पनीका ठेकेदार सुरेन्द्र चापागाईंले अब चाँडै भवन निर्माण सक्ने बताउनुभयो।