• १३ मंसिर २०८१, बिहिबार

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्न सफल

राष्ट्रपतिद्वारा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त

blog

उपेश महर्जन 

काठमाडौं, पु्स १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको सङ्घीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार दाहाल  प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । 


राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष ले नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका सांसदको हस्ताक्षर पेश गर्नुभए पछि उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र तीन स्वतन्त्रको समर्थन छ । 

प्रधानमन्त्री दाहालको उदय यात्रा 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जन्म वि.सं. २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा लिनुभयो ।

वि.सं. २०२६ चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नुभई एमपीएसम्मको अध्ययन गर्नुभएको छ । 

कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरिनुभएका प्रचण्डको २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा क. कल्याण, क. विश्वास, क. निर्माण र क. प्रचण्ड नाम थियो । 


अध्यक्ष प्रचण्ड संघीय निर्वाचनमा मतदान गर्नुहुँदै। 

वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगरमा बसाइसराई गर्नुभएका प्रचण्डको वि.सं. २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो ।

उहाँका तीन छोरी र एक छोरा भए । उहाँ नारायणी विद्यामन्दिर मावि शिवनगर–२०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा युएसएडमा सेवामा रहनुभएको थियो ।

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले रामबहादुर थापामगर ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो । 

उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । 

उहाँ विसं २०३८ मा क्षेत्रीय ब्युराे सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभयो ।

विसं २०४१ मा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री हुनुभयो ।

यसैगरी, २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी)  राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो । 

२०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा उहाँ निर्वाचित हुनुभयो । २०६९ सालमा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभयो । साथै, उहाँले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ । 

उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित हुनुभएको थियो । 

संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३÷४÷१९ गते व्यवस्थापिका–संसदमा नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।

यस्तै, उहाँले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचनमा विजयी हुनुभएको छ । योसँगै उहाँ तेस्रो पटकको लागि प्रधानमन्त्री बन्नुभएको हो ।

अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या भाग (१, २ र ३), सांस्कृतिक, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरुलगायतका पुस्तक प्रकाशित छन् ।