• १३ असोज २०८१, आइतबार

जनकपुरको विजयी सुरुवात

blog

नेपाल टी–२० क्रिकेट लिगमा प्रतिस्पर्धा गर्दै जनकपुर र पोखराका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस १० गते । जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको दोस्रो खेलमा जनकपुरले पोखरा रेन्जर्सलाई पाँच विकेटले हरायो । 

पोखराको यो लगातार दोस्रो हार हो । पोखराले दिएको एक सय ३९ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले १७.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरको जितमा सन्दीप जोराले अविजित ४० रन बनाउनुभयो । सागर पुनले ३८ र चाडविक वाल्टनले १९ रन जोड्नुभयो । 

बलिङमा पोखराका जाहिर खानले तीन तथा मौसम ढकाल र शरद भेषावाकरले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । 

पोखराका लागि आसिफ शेखले ५० रन बनाउनुभयो । सिद्धान्त लोहनीले २९, प्रतिशत जिसीले २८ र अमिर हम्जाले १८ रन बनाउनुभयो । बलिङमा जनकपुरका केसरिक विलियम्सले तीन तथा शरफुदिन असरफ, पवन सराफ र ललित राजवंशीले दुई दुई विकेट झार्नुभयो ।