• ७ असार २०८१, शुक्रबार

कांग्रेसले पहल लिन नसकेपछि एमाले तयार भयो : महासचिव पोखरेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १० गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनबाट नेपाली कांग्रेस पहिलो शक्ति बने पनि सरकार गठनमा पहलकदमीको भूमिका निर्वाह गर्न नसकेपछि दोस्रो ठूलो दल एमालेले राजनीतिक नेतृत्व लिएको बताउनुभएको छ । बालकोट बैठकको सहमतिपछि पत्रकारसँग संक्षेपमा कुरा गर्नुहुँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

“सम्पन्न निर्वाचनले नेपाली काँग्रेसलाई पहिलो दलको रूपमा निर्वाचित गरे पनि सरकार गठन, मुलुकको निकासमा पहलकदमी लिन नसकेपछि दोस्रो ठूलो पार्टी एमालेले पहलकदमी लिने नैतिक बाध्यता आइलाग्यो” महासचिव पोखरेलले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले निर्धारण गर्नुभएको समयमा संविधानको धारा ७६ को (२) अनुसार सरकार गठन गर्न एमालेले नेतृत्व लिएको उहाँले चर्चा गर्नुभयो । आम जनादेशभन्दा विपरीत हुने अवस्थालाई ध्यानमा राखेर दलहरुबीच छलफल हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा उपधारा (२) अनुसार नै सहमति बनेको उहाँले जानकारी दिनुभयो । 

महासचिव पोखरेलले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित संसदमा १६६ सङ्ख्या रहेको बताउनुभयो । “स्वाभाविक रूपमा जुन दलहरू सहमत भएका छन्, उपधारा (२) अन्तर्गतको सरकार गठनको बाटो स्पष्ट पारेका छौँ । सरकार गठन पछाडि सबै विषयमा छलफल गरेर अगाडि बढ्छौँ” उहाँले भन्नुभयो । 

बैठकमा एमाले र माओवादी केन्द्रका नेतासहित रास्वपाका सभापति रवि लामिछाने, जसपाका वरिष्ठ नेता अशोक राई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत  लगायतका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो । यसैबीच बालकोटमा भएको सहमतिअनुसार प्रधानमन्त्रीमा बहुमतसहित दाबी पेस गर्न दलका नेताहरू राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको जानकारीमा आएको छ ।