• ११ असोज २०८१, शुक्रबार

आयुर्वेदिक स्वास्थ्योपचार सेवा लिने बढे

blog

तनहुँ समाचारदाता

तनहुँ, पुस १० गते । तनहुँमा आयुर्वेदिक स्वास्थ्योपचार सेवाप्रति बिरामीको विश्वास बढ्दै गएको छ। आयुर्वेदिक उपचारमा गुणस्तरीय सेवा थपिएपछि यस उपचारप्रति बिरामीको आकर्षण बढेको हो। आयुर्वेदिक उपचार प्रभावकारी भई बिरामीले लाभ लिन थालेपछि तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी चाप बढेको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाइएकाले आयुर्वेद स्वास्थ्यमा उपचारका लागि आउने गरेको बिरामीले बताएका छन्। 

नसा च्यापिने समस्याबाट धेरै लाभ मिलेको नेपाली कांग्रेस व्यास नगरपालिकाका सभापति सूर्यचन्द्र हड्खलेले बताउनुभयो। २५० रुपियाँ खर्चमै आयुर्वेदिकबाट लाभ मिल्यो, हड्खलेले भन्नुभयो।

ऋषिङ गाउँपालिका–५ रूपटार निवासी ५५ वर्षीय विष्णुमाया गिरीले लामो समयदेखिको टाउको दुख्ने समस्याको छुटकारा पाएको बताउनुभयो। “ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुर्वेदिक उपचारबाट निको भएको छ”, गिरीले भन्नुभयो। स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्तलगायत सेवा लिन धेरै बिरामी आउने गरेको स्वास्थ्य केन्द्रले जनाएको छ। 

सो केन्द्रमा पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले बताउनुभयो।

“एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेका छन्, हामीले निको बनाएर पठाएका छौँ,” डा. मण्डलले थप्नुभयो। पेट दुख्ने समस्याको समाधानका लागि आयुर्वेदिक औषधिले लाभ मिलेपछि आकर्षित भएका व्यास नगरपालिका–२ मालेबगर निवासी फूलमाया अधिकारी आयुर्वेद उपचार राम्रो भएको बताउनुहुन्छ। तनहुँका अतिरिक्त छिमेकी जिल्ला गोरखा, लमजुङका बासिन्दासमेत उपचारका लागि आउने गरेका छन्। यस्तै आयुर्वेद स्वास्थ्य उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि केन्द्रमा दरबन्दीअनुसार पदपूर्ति नहुनु, आवश्यक भौतिक पूर्वाधारको अभाव, विद्युत्को वैकल्पिक व्यवस्था नहुनु, ढुवानी तथा प्राविधिक जनशक्तिमा तालिमको अभावलगायतका समस्या केन्द्रले झेल्दै आएको छ। 

आयुर्वेद सेवासम्बन्धी भ्रमात्मक विज्ञापन, भ्रम छिचोल्ने सचेतना कार्यक्रम नहुनु, भौगोलिक कठिनाइ, कार्यविधि एवं निर्देशिका बमोजिम न्यून बजेटको व्यवस्था, पुनर्ताजगी तालिमविहीन जनशक्ति, न्यून गुणस्तरीय आयुर्वेद औषधिको उत्पादन, फिजियोथेरापी सञ्चालनका लागि जनशक्तिको अभावलगायतले गर्दा सेवालाई थप प्रभावकारी बनाउन कठिन भएको केन्द्र प्रमुख डा. मण्डल बताउनुहुन्छ। 

हाल दैनिक करिब एक सय जना विभिन्न रोगका बिरामी आयुर्वेदिक उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ। केन्द्रको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको मङ्सिर सम्ममा १६ हजार ८४५ जना बिरामीले उपचार लिएका छन्। आव २०७७/७८ मा ५५ हजार ८४२ जनाले उपचार लिएको सो कार्यालयले जनाएको छ। त्यसैगरी २०७६/७७ मा ३८ हजार ५८५ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्।