• २१ असार २०८१, शुक्रबार

पुर्ख्यौली व्यवसायमा फर्किँदै माझीटारका युवा

blog

फिदिम ४ र हिलिहाङ ७ को सङ्गम स्थल माझी टारमा सञ्चालनमा ल्याइएको काठको डुङ्गा । तस्बिर: राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, पुस १० गते । पाँचथरका हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाको सङ्गममा पर्ने माझी टारका युवाले पुर्ख्यौली पेसालाई निरन्तरता दिने अभियान सुरुवात गरेका छन् ।

नदीमा पुल बनेपछि विस्थापित भएको डुङ्गा पुनः सञ्चालनमा ल्याएर पेसाको जगेर्ना गर्न युवाहरू अग्रसर भएका हुन । उहाँहरूले तमोर नदीको माझिटार खण्डमा घुम्न आउने आन्तरिक पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यले काठ कपेर निर्माण गरिएको डुङ्गामा जलयात्रा गराउने काम पनि पुस ९ गतेदेखि औपचारिक रूपमा सुरु गरेका छन् ।

यहाँका १० जना माझी युवकहरूको अगुवाइमा एक लाख १० हजार रुपैयाँ खर्चेर तयार गरिएको डुङ्गा रङ रोकन गरेर आकर्षित बनाइएको छ । तमोर नदीमा वनभोज खान र  छोटो दुरीमा जल विहार गर्न रुचाउने पारखीहरूलाई मनोरञ्जन दिँदै पुर्ख्यौली पेसा जोगाइराख्न यो अभियान थालिएको हिलिहाङ ७ का वडा सदस्य समेत रहेका स्थानीय राम माझीले बताउनुभयो ।

युवाहरूको पहलमा सञ्चालनमा ल्याइएको डुङ्गा सञ्चालनको उद्घाटन हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले गर्नुभयो । उद्घाटन समारोहमा फिदिम ४ का वडाध्यक्ष उपेन्द्र लावती लगायतका जनप्रतिनिधिको उपस्थिति थियो । उद्घाटनका पहिलो दिन झन्डै एक सय जनाले छोटो दुरीको जल विहार गरेको सञ्चालक मध्येका प्रकाश माझीले जानकारी दिनुभयो  ।

तमोर नदीको माझिटार,पिनासी,नक्कले र लमुघाटमा पुल निर्माण नहुँदासम्म माझीहरू डुङ्गा मार्फत नै मान्छे तारेर गुजारा चलाउँथे । ती घाटहरूमा पुल बनेपछि डुङ्गा नै विस्थापित भएका थिए । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अधिकारीले अल्पसङ्ख्यक माझीहरूको पुस्तैनी व्यवसाय जगेर्नाका लागि स्थानीय सरकारले सहयोग गर्ने वचन दिनुभयो ।  डुङगालाइ आकर्षक बनाउन  राष्ट्रिय झन्डा फहराइएको छ ।