• २१ असार २०८१, शुक्रबार

अध्ययनसँगै पुर्ख्यौली पेसामा १८ वर्षीय सम्झना

blog

जुत्ता सिलाउनका लागि व्यस्त सम्झना नेपाली । तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, पुस १० गते । गुल्मीको इस्मा गाउँपालिका–२ हस्ती चौरकी सम्झना नेपालीले उमेरले १८ वर्षकी हुनुभयो । सदरमुकाम तम्घासकै सिद्धबाबा माध्यमिक विद्यालयबाट कक्षा–१२ उत्तीर्ण गर्नुभएकी सम्झना अहिले जुत्ता सिलाउन व्यस्त हुनुहुन्छ ।

स्नातक तह अध्ययन गर्ने सुरसारमा रहनुभएकी सम्झनाले १२–१३ वर्षको उमेर देखि नै जुत्ता सिलाउन बुवा चन्द्रबहादुर नेपालीसँग सिकेको बताउनुहुन्छ । विद्यालयमा सैद्धान्तिक ज्ञान प्राप्त गर्नुभएकी सम्झनालाई बुवासँग जुत्ता सिलाई तत्कालै अर्थोपार्जन गर्न सक्ने सीप सिक्ने अवसर मिल्यो । उहाँले अहिले सदरमुकाम तम्घासको भिमचोकमा बुवासँगै जुत्ता सिलाउदैं आउनु भएको छ ।

त्यस समुदायका मानिसहरूले जुत्ता सिलाउने पेसालाई पुर्ख्यौली पेसाका रूपमा लिने गर्दछन् । तर, पछिल्लो समय त्यस समुदायका मानिसहरू जुत्ता सिलाउने पेसाबाट पलायन भइरहेका बेला सम्झनाले भने आफ्नै पुर्ख्यौली पेसा गरी उदाहरण प्रस्तुत गर्नुभएको छ ।

“काम कहिल्यै पनि सानो–ठुलो भन्ने हुँदैन ।” उहाँले भन्नुभयो,“कुनै पनि काम गरेर जीविका लजाउन हुँदैन ।” जुत्ता सिलाउने पेसा र उच्च शिक्षा अध्ययनलाई सँगै अगाडी बढाउने बताउनुभयो । सम्झनाले मात्र होइन, तम्घासमै उहाँकी आमा सहितका अन्य महिलाहरूले पनि  जुत्ता सिलाउने गर्नुभएको छ ।

सम्झनाका बुबा चन्द्रबहादुर नेपाली १३ वर्ष अघि जन्मथलो इस्मादेखि तम्घास आउनुभयो । उहाँले पुर्ख्यौली जुत्ता सिलाउने पेसालाई निरन्तरता दिनुभयो । जुत्ता सिलाएरै छोरा–छोरी पढाउँदै तम्घासमै दुई तल्ले पक्की घर पनि बनाई सक्नुभएको छ । छोरीको सीप सिकेर पुर्ख्यौली पेसालाई व्यवसायीक रूपमा अगाडी बढाउने सोच र आत्मविश्वाससँगै अध्ययनलाई निरन्तरता दिएको देख्दा खुसी लागेको चन्द्रबहादुरले बताउनुभयो ।