• १० मंसिर २०८१, सोमबार

सांस्कृतिक पहिचानमा चुनौती

blog

काठमाडौँ, पुस १० गते । नेवार समुदायले नदी किनारमा रहेका अनधिकृत बस्तीले काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको जनाएको छ।

बागमतीलगायत काठमाडौँका विभिन्न नदी किनारका अनधिकृत बस्तीले नेवार समुदाय र काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानमाथि चुनौती थपिएको उहाँहरूको भनाइ छ। काठमाडौँ महानगरपालिकाले यहाँ रहेका अनधिकृत बस्ती हटाउने र सम्पदाको संरक्षण गर्ने कार्यमा आफूहरूको पूर्ण समर्थन रहेको नेवार समुदायले जनाएको छ।

नेवार समुदायसँग सम्बन्धित विभिन्न १५ वटा सङ्घ संस्थाहरूले शनिबार यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा महानगरको कदम सकारात्मक र प्रशंसनीय रहेको र अनधिकृत बस्ती, घर, टहरा हटाउने क्रममा त्यहाँका बासिन्दामा पर्ने असुविधालाई ध्यानमा राख्न आग्रह गरिएको छ।  

नेवाः जातीय महासङ्घका अध्यक्ष मनोज नेवाः खड्गीले काठमाडौँको मौलिक पहिचान संरक्षण गर्ने महानगरपालिकालगायत राज्यका कुनै पनि तहको कदमलाई आफूहरूले हृदयदेखि समर्थन गर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, “राज्यको केन्द्रीकृत विकासका कारण ७७ वटै जिल्लाका नागरिक जीविकोपार्जनका अवसर खोज्न काठमाडौँ बसोबास गर्न आउँदा जनसङ्ख्याको चाप अत्यधिक रूपमा बढ्न गई नगरको सांस्कृतिक पहिचानमाथि चुनौती थपिन पुगेको छ।” उहाँले सुकुम्बासीका नाममा आफ्नै नाममा जग्गा जमिन रहेका वा खरिद गर्न सक्ने आर्थिक हैसियत भएकाहरूलाई तत्काल हटाउनुपर्ने बताउनुभयो।