• १३ मंसिर २०८१, बिहिबार

भोलि फेरि बैठक बस्ने

गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : सञ्चारमन्त्री कार्की

blog

बैठकपछि पत्रकारसँग कुराकानी गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

काठमाडौं, पुस ९ गते। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ। 

नयाँ सरकार गठनबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो। 

‘‘प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो। मुलुकलाई जनताको आकाङ्क्षा अनुसार कसरी अगाडि बढाउने भन्ने कुरा महत्त्वपूर्ण हो। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ। यस विषयमा भोलि थप छलफल हुन्छ’’, सरकारका प्रवक्ता कार्कीले भन्नुभयो। 

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चासहित दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो।

निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ३ गते एक साताको समय निर्धारण गर्नुभएको थियो।

आजको बैठकमा प्रधानमन्त्रीकै विषयमा छलफल केन्द्रित भएको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले जानकारी दिनुभयो।  ‘‘विशेष गरेर आज प्रधानमन्त्रीको विषयमा छलफल भयो। सबै दलले आआफ्नो धारणा राख्नुभएको छ। आइतबार पार्टीभित्र छलफल गरेर पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको हो’’, बैठकपछि गोरखापत्र अनलाइनसँग कुरा गर्दै महासचिव भुसालले भन्नुभयो।

राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो। 

सत्तागठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन्। अर्को बैठक आइतबार दिउँसो बस्ने उहाँको भनाइ छ।