• २१ असार २०८१, शुक्रबार

गोठ सुधार गरेर कोरियाका बाच्छीको पर्खाइमा किसान

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, पुस ९ गते । सिन्धुलीको कमलामाई नगरपालिका–५, दमारका किसान शर्मिला सार्कीले उन्नत जातको होलिस्टिन गाई पाल्न आफ्नो गोठ सुधार गरी चिटिक्क पार्नुभएको छ । 

गत वर्ष कमलामाई नगरपालिका र हेफर इन्टरनेसनलबीच ‘मिल्की परियोजना’ सञ्चालन गर्न भएको सम्झौताअन्तर्गत उहाँले निःशुल्क रूपमा होलिस्टिन जातको एउटा कोरली बाच्छी आइतबार प्राप्त गर्नुहुनेछ । उन्नत जातको गाई पाउने भएपछि उहाँले पाल्दै आउनुभएको भैँसी बेचेर गोठ खाली गरिसक्नुभएको छ ।

शर्मिला सार्कीले भन्नुभयो, “नगरपालिकाले दिएको ५० हजार रुपियाँ र सिन्धुली जिल्लामा हेफर परियोजना सञ्चालन गर्ने सिड्स नेपालले दिएको ५० हजार रुपियाँबाट केही महिनाअघि मात्रै गोठ सुधार गरी आधुनिक बनाएको छु । उन्नत जातको गाईबाट बढी फाइदा हुने देखेर पाल्दै आएको भैँसी बेचेर गोठ खाली गरेको हुँ ।”

कमलामाई नगरपालिका–५ को दमार, राजपानी, गैयाटारमा गत वर्ष हेफरले विपन्न १०९ जना किसानलाई समेटेर समूह बनाएको थियो । त्यही समूहका ५० जना किसानलाई अहिले दक्षिण कोरियाबाट जहाजमार्फत उन्नत जातको होलिस्टिन गाईको बाच्छी ल्याएर आइतबार निःशुल्क वितरण गर्न लागिएको हो ।

कमलामाई नगरपालिकाका पशु शाखाका चिकित्सक डा. रोशन कोइरालाले कमलामाईका ५० जना किसानलाई वितरण गर्न ८१ वटा बाच्छी हेफर इन्टरनेसनल नेपाल उपलब्ध गराउने बताउनुभयो । दक्षिण कोरियाले निःशुल्क उपलब्ध गराउने १२१ वटा बाच्छाबाच्छीमध्ये बिहीबार पहिलो खेपमा छदेखि नौ महिनाका ४२ वटा बाच्छाबाच्छी काठमाडौँ ल्याइएको हो । बाँकी बाच्छाबाच्छी मङ्सिर ८, १० र १३ गते आइपुग्ने बताइएको छ । 

“ती बाच्छीलाई दुई दिनसम्म काठमाडौँमै नार्कको क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि नेपाल सरकारले कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेपछि किसानलाई वितरण गरिनेछ,” उहाँले भन्नुभयो । 

नगरपालिकाका अनुसार कोरियाबाट ल्याएका ती गाईका बाच्छी सिन्धुलीको वातावरणमा हुर्किन्छन् कि हुर्किंदैनन् भनेर पहिला जाइका इन्टरनेसनलले अध्ययन गरेको थियो । पछि हेफरले पनि अध्ययन गरेपछि सम्भव देखेर अहिले कोरियाबाट होलिस्टिन जातका बाच्छी झिकाएर किसानलाई वितरण गर्न लागिएको हो ।

कमलामाई नगरपालिकाको ५० हजार रुपियाँ र हेफर परियोजनाअन्तर्गत सिड्स नेपालको ५० हजार रुपियाँ गरी एक लाख रुपियाँमा दमार, गैयाटार र राजपानीका ५० जना किसानले गाई पाल्न परम्परागत गोठलाई सुधार गरी आधुनिक र व्यवस्थित बनाएका छन् । अहिले तीनै किसानलाई उक्त गाईको बाच्छी निःशुल्क वितरण गर्न लागिएको सिड्स नेपालले जनाएको छ । सिड्स नेपालका अध्यक्ष दीपककुमार घिमिरेले किसानको माग र पाल्ने क्षमताअनुसार एक जना किसानलाई दुईवटासम्म बाच्छी उपलब्ध गराउन लागिएको बताउनुभयो । “अहिले बाच्छी पाउने किसानले पछि गाई ब्याएपछि अहिलेकै जत्रो बाच्छी समूहको अर्को किसानलाई दिनुपर्नेछ अनि मात्र गाई सम्बन्धित किसानको हुनेछ । यसरी समूहका सबै किसानलाई क्रमशः वितरण गर्दै जाने योजना रहेको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार गाई पाल्न हेफरले किसानलाई गाईपालन, पशु व्यवस्थापन, क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा तालिम दिएको छ । समूहका सबै किसानलाई हेफरबाट खानेपानीको व्यवस्था, करेसाबारी, गोबर ग्यास बनाउनेलगायतका १० वर्ष योजनाको प्याकेजको कार्यक्रम आउनेछ । घाँस उत्पादनदेखि अन्य आवश्यक व्यवस्था हेफरको सहयोगमा हुने बताइएको छ । यी प्रत्येक गाईमा चिप्स जडान भएका छन्, जसको माध्यमबाट दक्षिण कोरियाबाट गाईको स्वास्थ्यलगायतका कुरामा निगरानी हुने बताइएको छ । त्यसको रेखदेखको जिम्मा पशुसेवा विभागको पनि हो तर मुख्य जिम्मेवारी कोरिया सरकारको हुने बताइएको छ ।