• १६ चैत २०८०, शुक्रबार

तमू ल्होसारकाे तयारी पूरा

blog

तमू ह्युला छोंज धी राष्ट्रिय परिषदको सभाहलमा तमू ल्होसार मूल आयोजक समितिले गरेको पत्रकार सम्मेलन । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ८ गते । तमू ल्होसार “तो ल्हो” (बाघ वर्ग) को बिदाइ तथा “हि ल्हो” (बिरालो वर्ग) को स्वागत गरेर मनाउने तमू ल्होसारको तयारी पूरा भएको छ । नेपाल विविध  संस्कार संस्कृति रहेको देश हो । तमू ल्होसार विशेष गरी भोट बर्मेली जातीले मनाउने चाड हो । यो पर्व नेपालमा मात्र नभएर विश्वका अन्य देशमा पनि मनाउने गरिएको तमू ल्होसार मूल आयोजक समितिका महासचिव रामबहादुर तमूले जानकारी दिनुभयाे । 

तमुका अनुसार भोट बर्मेली जातीले मनाउने पर्व मध्येको एक ठूलो चाड “ल्होसार” हो । उहाँले भन्नुभयो, “हामीले मनाउने ल्होसार तमू ल्होसार, तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार हुन् ।” “ल्हो” को सुरुवात तुर्किस्थानबाट भएको मानिन्छ । १२ वटा छुट्टाछुट्टै जीव–जन्तु रहेको चक्र हुन्छन् । यसलाई “ल्हो कोर” भनिन्छ । यो हरेक वर्ष क्रमअनुसार परिवर्तन हुँदै जाने भएकोले ल्होसार तमूको नयाँ वर्ष हो।


यसको आफ्नै मातृभाषामा नामाङ्कन गरिएको हुन्छ । जस्तै, नेपालमा नाग/सर्पको चित्र राखिन्छ भने चीन र जापानमा ड्रागनको चित्र राखिएको हुन्छ । “ल्हो” भनेको आदिमकालमा कुनै वैज्ञानिक पद्दतिको विकास नहुँदाको समयमा वर्ष गन्ने एउटा पद्दतिको विकास भएको बुझिन्छ ।

“ल्हो कोर” चक्रमा रहेको जीव एकबाट अर्कोमा सर्ने समयलाई ल्होसारको रुपमा मान्ने प्रचलन रहिआएको उहाँको भनाइ छ । ल्होसार गुरुङको सघन बस्ती भएको ठाउँमा धुमधामका साथ मनाउँने गरिन्छ । 


राजधानी काठमाडौंमा गुरुङको बसोबास बढ्दो क्रम जारी छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौंको टुँडिखेलमा पुस १३, १४ र १५ गते  ल्होसार मनाउन कार्यक्रमको आयोजना गरेको छ ।  कार्यक्रममा लोक दोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता हुने महासचिव तमूले बताउनुभयो ।

उहाँका अनुसार, यस वर्ष पनि ल्होसार टुँडिखेलमा भेला भएर आपसी सद्भाव र शुभकामना साटासाट गरेर मनाउने भएको छ । पुस १४ गते रातिदेखि १५ गतेसम्म तमूखेगी पुरोहितद्वारा ग्रहशान्ति पूजा हुनेछ । ल्होसार मुख्य दिन पुस  १५ गते वसन्तपुरबाट न्युरोड, शान्ति बाटीका, रत्नपार्क, भद्रकाली, सहिदगेट हुँदै टुँडिखेलसम्म झाँकी र्‍याली  हुनेछ । 


ल्होसारको उपलक्ष्यमा शुक्रबार, तमू ह्युला छोंज धी राष्ट्रिय परिषदको सभाहलमा नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धी केन्द्रीय समिति, काठमाडौंले  तमू विद्यार्थीको वेवसाइटको बिमोचन, स्यौंरा तथा शुभकामना आदानप्रदान कार्यक्रम तय गरेको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।