• ११ मंसिर २०८१, मङ्गलबार

अस्पताल निर्माणको विषयमा झडप, २७ घाइते

blog

अस्पताल निर्माणको विषयमा भएको झडप ।

गोकर्ण दयाल
बैतडी, पुस ८ गते ।
बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माण गर्ने विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ । मेलौली नगरपालिका–१, र ७ नम्बरका स्थानीयबीच अस्पताल निर्माणका विषयमा झडप हुँदा २७ जना घाइते भएका छन् । प्रहरीले भने २२ घाइते भएको जनाएको छ । 

मेलौली नगरपालिका–७, मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै ७ नं.का स्थानीयले मङ्गलबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।

तालाबन्दीविरुद्ध वडा नं १ का बासिन्दा प्रतिकारमा उत्रिएपछि बिहीबार अपराह्न झडप भएको हो ।

अस्पताल निर्माण गर्ने स्थानका बारेमा बिहीबार अपराह्न दुवै पक्षले नाराबाजी गर्दा झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।

अस्पतालका विषयमा दिनहुँ नाराबाजी हुन थालेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बैतडीबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अप्रिय घटना हुन नदिन नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल नेपालको टोलीसमेत मेलौली पठाएका छौं । अस्पतालका विषयमा जनप्रतिनिधि र नागरिकहरु दुई ठाउँमा विभिजित हुँदा झडपकाे स्थिति आएको छ । वार्ता गरेर समस्याको समाधान निकाल्नुपर्ने ठाउँमा जनप्रतिनिधि नै झडपमा उत्रिएको बुझिन आएको छ ।”

झडपमा परेर ७ नं. वडाका १० जना घाइते उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । वडा नं १ को समूहले आफूहरुमाथि ढुङ्गामुढा प्रहार गर्दा २७ जना घाइते भएको ७ नंं.का घाइतेहरुले आरोप लगाएका छन् । झडपमा वडा नं १ तर्फका १० जना घाइते भएका स्थानीय विजयसिंह नायकले बताउनुभयो ।

मेलौलीको काँडाबजारस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको संरचना र जग्गा हुँदाहुँदै अस्पताल सार्न खोज्दा यस अघि पनि विवाद सिर्जना भएको मेलौली नगरपालिका–९, का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको जग्गा ७ नंं. मा हुँदाहुँदै प्राथमिक स्वास्थ्य केन्द्र सार्ने उद्देश्यले पूर्व जनप्रतिनिधिहरुले स्वास्थ्य मन्त्रालयलाई सोही अनुसारको सिफारिस पठाएकाले विवाद सिर्जना हुँदै आएको छ ।”

अस्पतालको नाममा वडा नं १ र ७ नं. दुवै ठाउँमा जमिन हुँदा कुन ठाउँमा बनाउने भन्ने विषयमा स्थानीयबीच विवाद हुँदै आएको छ । अधिल्लो नगर कार्यपालिकाको बैठकले वडा नंं.१ को बिठ्ठनेमा अस्पताल निमार्ण गर्नुपर्ने भन्दै सोही अनुसारको डिपिआर तयार भएको छ । अस्पतालकै विषयलाई लिएर दुबै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन् ।