• ११ मंसिर २०८१, मङ्गलबार

भूकम्पको कहर

भूकम्पपीडितको दिनचर्या कष्टकर

blog

डोटी समाचारदाता

गैरागाउँ (डोटी), पुस ८ गते । लगातारको अत्यधिक चिसो र त्रिपालमुनिको बसाइले डोटीका भूकम्पपीडितको दिनचर्या कष्टकर बन्दै गएको छ। रातिको समयमा शीत पर्ने कारण पालभित्र पानी चुहिँदा बालबालिका, वृद्ध र गर्भवती महिलामा बढी समस्या हुने गरेको छ। डोटीको पूर्वीचौकी–३, गैरागाउँकी ६५ वर्षीया धौलीदेवी भुलले भन्नुभयो, “कतिबेला उज्यालो होला र घाम तापाैँला भन्ने हुन्छ।”

नियमित औषधि खाइरहनुपर्ने र दमको समस्या भएकी भुलले भन्नुभयो, “पालबाट शीत चुहिएर रातभर चिसोले सुत्न नै सकिँदैन, आगो तापेर रात काट्नुपर्छ। अब हिउँ पर्दा बाँचिने हो कि मरिने हो थाहा छैन।” 

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दु भएर कात्तिक २३ गते बिहान गएको भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको ज्यान गएको थियो। भूकम्पका कारण पाँच जना घाइते भएका थिए। भूकम्पले गैरागाउँमा १८ घरमा पूर्ण क्षति हुनुका साथै खप्तडसँग जोडिएका डोटीका सायल र पूर्वीचौकी गाउँपालिकामा छ हजार घर चर्किएको गाउँपालिकाको तथ्याङ्कमा छ। 

चिसोका कारण पालमुनि बस्न नसक्नेहरू चर्किएकै घरमा जोखिम मोलेर बस्न थालेका छन्। डोटीकै सायल  गाउँपालिका–४, पातल गाउँका स्थानीय नर भण्डारीले भन्नुभयो, “चर्किएको घर भत्किने अवस्थामा छ। चिसोका कारण पालमुनि बस्न नसकेपछि आजभोलि घरभित्रै बस्न थालेको छु। बाहिर बस्दा  चिसोले मर्नुपर्ने घरभित्र घर भत्किने डर छ।”

डोटीको पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले भूकम्प प्रभावितका समस्यालाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

अध्यक्ष उपाध्यायले भन्नुभयो, “चिसो बढेसँगै हिउँ पर्ने सम्भावना पनि छ। विभिन्न निकायमा सहयोगका लागि पहल भइरहेको छ। पूर्णरूपमा घर क्षति भएका स्थानमा पुसभित्र नै अस्थायी टहरा भए पनि निर्माण गर्ने योजना गाउँपालिकाको छ।”