• २३ असार २०८१, आइतबार

वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

blog

टङ्कीसिनवारी, पुस  ८ गते । मोरङको कुल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन छ । तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा छ । 

मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैविक विविधतामा सुधार आएको भए पनि डढेलोले वन व्यवस्थापनमा बाधा पु¥याउने गरेको छ । डढेलोलाई वन विनाशको मुख्य कारण मानिन्छ । दाउरा निकाल्न सजिलो हुने भनेर वनमा आगो लगाउने गरेको पाइएको छ । विराटनगर–३ स्थित डिभिजन वन कार्यालयका अनुसार मोरङमा बर्सेनि औसत एक सय ५० देखि चार सय हेक्टर वनक्षेत्रमा डढेलो लाग्ने गरेको छ । 

वन व्यवस्थापन दिगो, छरितो र उत्कृष्ट भए पनि वन क्षेत्रमा लाग्ने डढेलोले बेलाबेलामा चिन्ता बढाउने गरेको छ । डढेलोले सङ्कटापन्न जीवजन्तुदेखि बहुमूल्य रूख बिरुवामा क्षति पु¥याउने गरेको सहायक वन अधिकृत एवं सूचना अधिकारी रामलखन ठाकुर बताउनुहुन्छ । 

“कार्यालयले वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रमदेखि सञ्जाल गठनसम्मको काम गर्दै आएको छ”, उहाँले भन्नुभयो । उहाँले स्थानीय वन उपभोक्ता समूहका प्रतिनिधि, सुरक्षा निकाय, वन सुरक्षा निकाय र डिभिजन वन कार्यालयको कर्मचारी सम्मिलित वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको बताउनुभयो । सञ्जालले वनक्षेत्रमा लागेको डढेलो निभाउनेदेखि आगलागीबारे जनचेतना फैलाउनेसम्मको कार्य गर्दैआएको ठाकुरले बताउनुभयो । 

कार्यालयले डढेलो नियन्त्रणका लागि वनक्षेत्रमा पतझर सोहाेरेर अग्निरेखाको सरसफाइ, वन क्षेत्रमा नियन्त्रित आगो लगाउने कार्य गर्दै आएको छ । साथै वनमा आगलागी भइहाल्यो भने तत्कालै निभाउनका लागि वनक्षेत्र नजिक तीन वटा पानी ढुवानीका लागि ट्याङ्कर  तयारी अवस्थामा राखिएको छ । 

डिभिजन वन कार्यालयका वन अधिकृत अनिरुद्धकुमार साहले सीमित स्रोतसाधनका बाबजुत मोरङमा डढेलो नियन्त्रणको सवालमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो । उहाँले मोरङको वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक प्राविधिक र जनशक्तिलाई तालिम र उपकरणसहित चौबिसै घण्टा परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको बताउनुभयो । 

चिसोले बढायो वायु प्रदूषणको जोखिम

पुसको चिसो बढेसँगै विराटनगर नगर क्षेत्रभित्र वायु प्रदूषणको जोखिम बढेको छ । चिसो बढेपछि नगर क्षेत्रका अधिकांश खुल्ला ठाउँमा आगो बालेर ताप्ने क्रम बढेको छ । आगो बाल्न काठ दाउराबाहेक गोबरको गुइँठा, कागज, प्लाष्टिक, रुवाको प्रयोग गर्ने पाइएको छ । 

काठ दाउरादेखि प्लाष्टिकसम्मको प्रयोग गरी आगो बाल्दा निस्कने धुवाँले नगर क्षेत्रको वायु प्रदूषण ह्वात्तै बढेको छ । विराटनगर महानगरपालिकाअन्तर्गतको वातावरण शाखाकी इन्जिनियर सुदीक्षा कार्कीले सर्वसाधारणले आगो बाल्न दाउराको मात्र प्रयोग नगरेर कागज, प्लाष्टिकजस्ता पदार्थको प्रयोग गर्दा त्यसबाट निस्किने धुवाँले वातावरणमा प्रदूषण फैलिएको बताउनुभयो । उहाँले बढ्दो जनघनत्वका कारण नगर क्षेत्रमा सवारी साधनको चाप उल्लेख्यरूपमा बढेको उल्लेख गर्दै वातावरणलाई स्वच्छ राख्न विद्युतीय सवारी साधन प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।  कार्कीले विराटनगरको वायु प्रदूषण बढ्न नदिनका लागि वृक्षरोपणका कार्यक्रमदेखि सचेतना फैलाउनेसम्मको काम निरन्तर गरिँदै आएको बताउनुभयो । 

“आगो बालेर ताप्नुभन्दा न्यानो कपडा लगाउनेतर्फ ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । चिसोमा प्रदूषणबाट बच्न अनावश्यक घरबाट बाहिर ननिस्कन, धुलो धुवाँ उड्ने खालको निर्माण व्यवसाय सञ्चालन नगर्न, खुल्लामा आगो नताप्न, फोहाेर वस्तु नजलाउनेसमेत कार्कीले सुझाव दिनुभयो ।