• १२ वैशाख २०८१, बुधबार

प्रतिनिधि सभामा पैँतालीस प्रतिशत नयाँ अनुहार

blog

काठमाडौँ, पुस ८ गते ।  प्रतिनिधि सभामा करिब ४५ प्रतिशत सांसद नयाँ हुनुहुन्छ । नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद् भवनमा बिहीबार १३० जनाले प्रतिनिधि सभा सदस्यको पहिलो पटक शपथग्रहण गर्नुभयो ।

पहिलो पटक संसदीय यात्राको अनुभव सँगाल्न लागेका सांसदहरूले आफ्नो संसदीय यात्रा देश र जनताको हितलाई केन्द्रमा राखेर अगाडि बढाउने प्रतिक्रिया दिनुभयो । नेपाली कांग्रेसबाट निर्वाचित सांसद प्रदीप पौडेलले चुनावअघि जनतासँग गरिएका वाचालाई मूर्तरूप दिन प्रयत्नशील रहने बताउनुभयो । 

नेकपा (एमाले)बाट निर्वाचित सूर्य थापाले पहिलो पटक संसद्को यात्रा गरे पनि २०४८ सालदेखि नै बहस हेर्दै र अध्ययन गर्दै आएको बताउनुभयो । उहाँले सदस्यका रूपमा पहिलो पटक स्वयं उपस्थित हुँदा नौलो लागेको बताउनुभयो । जनताको अपेक्षा पूरा गर्न आफू प्रयत्नशील रहने उहाँको धारणा छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रवि लामिछानेले आम नागरिकले विश्वास गरेर पठाइसकेपछि जनमतको कदर गर्दै जनताको हितमा काम गर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नै निर्वाचित डा. तोसिमा कार्कीले आफू स्वास्थ्य क्षेत्रको पृष्ठभूमिबाट आएकाले स्वास्थ्य क्षेत्र सुधारमा विशेष जोड दिने बताउनुभयो । उहाँले समस्या केलाउने मात्रै नभई समाधानतर्फ अग्रसर हुने बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रत्यक्षतर्फका सात र समानुपातिकतर्फका १३ गरी २० जनाले पहिलो पटक संसद्को यात्रा गर्न लागेका हुन् । 

नेपाली कांग्रेसबाट उम्मेदवार भई मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले विकास निर्माणमा पछाडि परेका मुस्ताङलगायतका हिमाली क्षेत्रको उत्थानका लागि विशेष पहल गर्ने बताउनुभयो । उहाँले जोमसोमदेखि उपल्लो मुस्ताङसम्म पक्की सडक निर्माण गर्ने र जिल्लावासीसँग गरेको वाचा पूरा गर्न प्रयास गर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार भई जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र शाहीले हिजो सडकमा उठाउँदै आएको मुद्दालाई अब संसद्बाट समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाँले देश र जनतालाई समृद्ध तुल्याउने नीति नियम निर्माणलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिनिधि सभामा १२ राजनीतिक दलका प्रतिनिधि निर्वाचित भएका छन् । सात दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित केही प्रतिनिधि सभा सदस्यले पनि पहिलो पटक संसद् भवनको यात्रा गरेका छन् । 

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले थुप्रै नयाँ प्रतिनिधि देख्दा उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा सत्ता पक्ष एक स्थान र विपक्ष अर्को ठाउँमा उभिएर यान्त्रिक भयौँ तर अब अन्तरपार्टी छलफल गरेर नयाँ परम्पराको सुरुवात गर्नेछौँ, जसले संसद्लाई नयाँ शिराबाट अगाडि बढाउनेछ ।” महामन्त्री थापाले भने संसद् यात्रा गरेको यो चौथो अवसर हो ।