• ११ मंसिर २०८१, मङ्गलबार

राजवीर र ताङ फाइनलमा

blog

टेनिसको ब्वाइज सिंगल्समा फाइनल पुगेका नेपालका राजवीर प्रधान । तस्बिर : राखेप

काठमाडौं, पुस ७ गते । नेपालका राजवीर प्रधान २०औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गर्नुभएको छ । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गर्नुभयो । 

फाइनलमा राजवीरको भेट हङकङका कि छियोङ मोरिस ताङसँग हुनेछ । ताङले आफ्नै देशका वान हिम दोनोभान यिमलाई सीधा सेटमा ६–४ र ६–१ ले हराउँदै फाइनल यात्रा तय गर्नुभएको हो । 

सातदोबाटोस्थित टेनिक कोर्टमा भएको गल्र्स सिंगल्समा भारतकी सराह चौधरीले नेपालकी स्वस्तिका विष्टलाई ६–३ र ६–० तथा भारतकी तनिशा भत्नागरले नेपालकी प्रशंसा मोक्तानलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गर्नुभयो । 

ब्वाइज डबल्समा हङकङका ताङ र यिमको जोडीले नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीलाई ७–५, १–६ (१५–१३) तथा भारतका सिद्धार्थ र भिभान मिर्धाको जोडीले भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीलाई ६–३ र ६–० ले पन्छ्याउँदै फाइनल भिडन्त पक्का गर्नुभयो । 

गल्र्स डबल्समा भारतकी हनी जुमानी गौरव र नेपालकी प्राज्ना मानन्धरको जोडीले नेपालकी प्रशंसा र भारतकी तनिशाको जोडीलाई ६–३ र ६–१ तथा नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीले नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीलाई ७–६ (७) र ३–६ (१०–८) ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।