कपिल ज्ञवाली
सिद्धार्थनगर, पुस ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउँदै हुनुहुन्छ ।आजदेखि बुटवलमा रुपन्देही उद्योग सङ्घको आयोजनामा आजदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ उद्घाटनका लागि भण्डारी बुटवल आउन लाग्नुभएको हो ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुनेछ ।
बुटवल मण्डपमा आयोजित विशेष समारोहबीच दिउँसो १ बजे राष्ट्रपति भण्डारीले महाेत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालको पनि उपस्थिति रहने सङ्घले जनाएको छ ।
बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका ४ सय ५० वटा स्टल छन् ।
त्यसैगरी, बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियन निर्माण गरिएको छ । राष्ट्रपतिले आजै पाल्पामा रहेको सिद्धबाबा मन्दिरमा दर्शन गर्ने कार्यक्रमसमेत छ । मन्दिरलाई चिटिक्क पारिएको छ ।