• १३ असोज २०८१, आइतबार

तेत्तीस दलको जमानत जफत

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस ७ गते । बागमती प्रदेशमा ३३ राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कम्तीमा एक सिट प्राप्त नगरेमा उक्त राजनीतिक दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको छ । 

बागमती प्रदेशमा ४० वटा दलले निर्वाचन आयोगमा प्रदेश सभातर्फ बन्दसूची पेस गरेका थिए । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा सहभागी भएकामध्ये सातवटा दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गरेका छन् । ३३ वटा दलको धरौटी जफत भएको छ ।

प्रदेश सभा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १.५० प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका तर्फबाट मात्र समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार यस प्रदेशमा सातवटा दलबाट ४४ जना बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएको आयोगको बागमती प्रदेशको निर्वाचन प्रतिवेदनमा उल्लेख छ । 

४४ जना प्रदेश सभा सदस्यमध्ये सबैभन्दा बढी नेकपा (एमाले)बाट १४ जना र त्यसपछि क्रमशः नेपाली कांग्रेसबाट १२ जना नेकपा (माओवादी केन्द्र)बाट सात जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छ जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना र हाम्रो नेपाली पार्टीबाट समानुपातिकतर्फ एक जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । 

यस प्रदेशमा कुल मतदाता ३४ लाख ७१ हजार ४९२ जना रहेकामा समानुपातिक निर्वाचनमा २० 

लाख ९९ हजार १०७ मतदान भएकामा १९ लाख ७३ हजार ७७४ मत सदर र एक लाख २५ हजार ६३३ मत बदर भएको थियो । समानुपातिक निर्वाचन प्रणालीमा ७५४ जना उम्मेदवारको बन्दसूची कायम भएको थियो । 

यस्तै प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ यस प्रदेशमा ८० जना महिलासहित राजनीतिक दलका र स्वतन्त्र गरी ६६८ जना उम्मेदवार रहेकामा ६७ महिला र ४१७ पुरुष गरी ५८४ जनाको धरौटी जफत भएको थियो । प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । 

यस प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३५ दल सहभागी भएका थिए । प्रत्यक्ष प्रणालीतर्फ यस प्रदेशमा २१ लाख चार हजार ५७८ मतदान भएकामा २० लाख २७ हजार ६४९ मत सदर र ७६ हजार ९७८ मत बदर भएको थियो ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट गरी ११० प्रदेश सभा सभा सदस्य निर्वाचित हुने बागमती प्रदेश सभामा ४० जना महिला र ७० जना पुरुष प्रदेश सभा सदस्य निर्वाचित भएको निर्वाचन आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ ।