• १२ मंसिर २०८१, बुधबार

सडक क्षेत्रमै गोदाम र कुखुरापालन

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), पुस ६ गते । बेनीको कालीपुलस्थित सडक अतिक्रमण गरी व्यापारीले गोदाम बनाइदिएका छन्। बेनी–जोमसोम–कोरला सडकको प्रवेशद्वार कालीपुलस्थित सडकछेउमा विभिन्न सामग्री गोदाम (भण्डार) गरी राखिएका छन्। 

व्यापारीका सामग्रीका कारण सडक साँघुरो भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ। सडकछेवैमा छरपस्ट सामग्रीका कारण पैदलयात्रामा असहज भएको छ। कालीपुलस्थित पेट्रोलपम्पदेखि जलजला गाउँपालिका–३, बगरफाँट जाने झोलुङ्गे पुलसम्मको सडक व्यवसायीहरूले अतिक्रमण गरी सामग्री र सवारीसाधन राख्ने गरेका छन्। 

अझ रोचक पक्ष त यस सडकको छेउमै कुखुरापालन समेत गरिएको छ। सडकको दुवै साइडमा सवारीसाधन पार्किङ गरेर सडकलाई साँघुरो पारिएको छ। पुराना थोत्रा सवारीसाधन पार्किङ गर्ने थलो बन्दै गएको छ। दैनिक सयौँ सङ्ख्यामा सवारीसाधन तथा सर्वसाधारण ओहोरदोहोर गर्ने सो सडक अतिक्रमण हुँदा सरोकारवाला निकाउहरू ‘तैँ चुप मै चुप’ छन्। सडकमै राखिएका सामानहरू हटाउन अनुरोध गर्दा व्यवसायीले अटेर गर्दै आएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। 

“हामीले मात्र सडक अतिक्रमण हटाउन सक्दैनौँ,” ट्राफिक प्रहरी प्रमुख इन्द्रजङ्ग थापाले भन्नुभयो, “जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीको सहयोग आवश्यक पर्छ।” सडकमा अस्तव्यस्त रूपमा राखिएका सामानहरू हटाउन जाँदा व्यवसायीहरू उल्टै प्रतिरोधमा उत्रिने गरेको उहाँले अनुभव सुनाउनुभयो। “कुखुरा पाल्न बनाइएको फलामको खोरलाई सडकको छेवैमा राखिएको छ। कुखुराको दाना राखिएका बोरालाई भण्डार गरी राखिएका छन्।” यसलाई हटाउन हामीले पटक–पटक आग्रह गरेका छौँ तर अटेर गर्छन्, उहाँले भन्नुभयो, यो हटाउन ट्राफिक प्रहरीले मात्र सक्दैन, यहाँका जनप्रतिनिधिको साथ र सहयोग आवश्यक हुन्छ। 

सडक आसपासमा राखिएका सामग्रीका कारण सडक साँघुरो हुँदा बगरफाँटबाट आउने विद्यार्थी र सर्वसाधरणलाई पैदल हिँड्नसमेत समस्या भएको उहाँले बताउनुभयो। 

जोमसोममा जाने, आउने सवारीसाधनको चाप भएकाले पनि यो क्षेत्रमा सडक अतिक्रमणलाई जसरी पनि हटाउनुपर्ने भनाइ उहाँको छ। बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले पेट्रोल पम्पदेखि झोलुङ्गे पुलसम्मको सडक फराकिलो बनाउन जरुरी रहेको बताउनुभयो।