• ९ मंसिर २०८१, आइतबार

बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्याल भन्नुहुन्छ

बाथरोगलाई हेलचेक्राइँ गरे अङ्गभङ्ग हुनसक्छ

blog

काठमाडौं, पुस ५ गते । जाडो मौसममा हाड जोर्नी दुख्ने, हातखुट्टा कक्रक र अररो हुनेजस्ता समस्या देखिन्छन् । चिकित्सका अनुसार जाडोमा यस्तो समस्या प्रायः बाथ रोगीलाई मात्र नभई जो कोहीलाई पनि देखिन सक्छ । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सा विज्ञान विभागका प्रमुख बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्यालले जाडोमा मौसममा देखिने यस्ता समस्या बाथरोगको कारणले मात्र नभई चिसोले गर्दा पनि दुख्ने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “जाडोमा हातखुट्टाका जोर्नी दुख्ने, सुनिने कक्रक हुनेजस्ता समस्या प्रायः सबैलाई देखिने गर्छ । यस्तो समस्या देखिँदैमा बाथ रोग नहुन पनि सक्छ । यस्तो समस्या पछि न्यानो भएर बसेपछि आफैं निको हुन्छ ।” डा. पौड्यालले बाथ जाडो मात्रै नभई जुन सुकै मौसममा बढ्ने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “यदि यो रोग चिसोमा मात्र बढ्ने भए हिमालमा बिरामी थुप्रिने थिए र तराईमा बिरामी हुँदैन थिए होला । यो समस्या सबै भू–भागका सबै उमेर समूहका मानिसलाई देखिने र जुनसुकै समयमा पनि बढ्न सक्छ ।” 

तर, बाथ रोगका बिरामीको जोर्नीहरुको दुखाइले दुःख दिने हुँदा जाडोमा न्यानो भएर बस्न  चिकित्सकको सुझाव छ । 

के हो बाथ रोग ?

डा.पौड्यालका अनुसार बाथ रोग एक प्रकारको दीर्घरोग हो । यसले जोर्नी र जोर्नी वरिपरिको तन्तुमा असर गर्छ । आम मानिसमा शरीरका कुनै हड्डी तथा ठुला जोर्नी दुख्यो भने पनि युरिक एसिड नै भयो भन्ने भ्रम छ । तर बाथ रोग जोर्नीमा मात्र सीमित नभई जोर्नी वरिपरिको नसा, तन्तु, मांसपेशी (लिगामेन्ट–हड्डी जोर्नी तन्तुहरु) दुख्ने सुनिने, अरर, कक्रक हुने एक प्रकारको समस्या हो ।  

कुनै बाथ सुरुमा जोर्नीमा मात्र असर गरे पनि रोग छिपिँर्दै गएपछि अन्य अङ्गमा पनि असर गर्ने डा.पौड्यालको भनाइ छ । बाथ रोगले जोर्नीभन्दा बाहिर छाला, मांसपेशी, आँखा, भित्री अङ्ग, मुटु, फोक्सो, मिर्गौला, पेटमा रगतको नसाहरुमा र हड्डीमा सबैतिर असर गर्ने डा.पौड्याल बताउनुहुन्छ । 

बाथका कारण 

अन्य नसर्ने रोगजस्तै बाथ के कारण लाग्छ भन्ने यकिन कारण अहिलेसम्म पत्ता नलागेको डा. पौड्यालको भनाइ छ । कारण पत्ता नलागे पनि हावा पानी, विभिन्न प्रदूषणले बंशाणुगत कारणले गर्दा यो रोग हुने अनुमान गरिएको डा. पौड्याल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ,“बाथरोग विभिन्न कुराको आपसी अन्तर सम्पर्कबाट हुन सक्ने अनुमान गरिएको छ । मानिसको वरिपरि विभिन्न वातावरणीय तत्व हुन्छन्, इन्फेक्सन, भाइरस, ब्याक्टेरिया फङ्गस, चोटपटक लाग्न सक्छ । विभिन्न वातावरणीय र बंशाणुगत इन्ट्याक्सन भयो भने बाथ रोग हुने गर्छ ।”

 प्रकार

बाथ भन्ने बित्तिकै ‘युरिक एसिड’ मात्र हो भन्ने आम मानिसमा भ्रम छ । चिकित्सकका अनुसार बाथ दुई सयभन्दा बढी प्रकारका छन् । नेपालमा ओस्टियो आरथाइटिस’ अर्थात् हड्डी तथा जोर्नी खिइने बाथ युरिक एसिड अटोइम्युन बाथ बढी मात्रमा देखिने चिकित्सक बताउँछन् ।  

ओस्टियो आरथाइटिस विशेषगरी उमेर बढ्दै जाँदा जोर्नी तथा हड्डी खिइँदा लाग्ने गर्छ । बढ्दो उमेरसँगै देखा पर्ने यो बाथ मोटा मानिस र महिलामा बढी देखिन्छ । उमेर र मोटोपनासँगै शरीरमा पोषण तत्व, क्याल्सियम, भिटामिन ‘डी’को कमी तथा थाइराइडका कारणले पनि यो बाथ लाग्ने गर्छ । 

यस्तै, महिनावारी सुकेपछि हर्मोनको परिवर्तनका कारण र पोषको अभावले पनि पनि महिलामा ओस्टियो आरथाइटिस बढी हुने गर्छ । 

युरिक एसिड बाथ रगतमा युरिक एसिडको मात्र बढ्दै जाँदा गोडाको बुढी औंला वरपर र (पछि अन्य भागमा पनि) जोर्नी दुख्छ । सबै जोर्नीका दुखाइ युरिक एसिड हुँदैनन ्। एक्कासि दुख्ने, सुन्निने, रातो हुँदै जाने हुन्छ । यो रोग बढ्दै गएमा जोर्नी बिग्रिने, बांगिने, युरिक एसिडका डल्ला ठाउँठाउँमा जम्ने र मिर्गौलाको काम बिग्रने तथा मिर्गौलामा पत्थरी समेत हुन सक्छ । 

अटोइम्युन बाथले चाहिँ आँखा, मुटु, मिर्गौला, छाला बिगार्नुका साथै जोर्नी र कपाल झर्ने, मांशपेशीसमेत बिगार्ने डा.पौड्यलको भनाइ छ । 

बाथ रोगले जोर्नी बाहेक अन्य भाग छाला, मांसपेशी, आँखा, भित्री अङ्ग, मुटु, फोक्सो, मिर्गौला, पेटमा रगतको नसाहरुमा र हड्डीमा सबैतिर असर गर्छ  ।

डा. पौड्यलका अनुसार समयमै उपचार नभए यी अङ्ग बिगार्नुका साथै जोर्नी बाङ्गिने, छालाका कारण मुख खोल्न नसक्ने जस्ता समस्या आउँछन् । 

त्यसका अलाव नेपालमा गठिया बाथ, ढाडको बाथ, छाला बाक्लो हुने बाथ, केटाकेटीमा हुने बाथलगायतका बाथ देखिन्छन् । 

पहिचान 

बिरामीमा देखिने लक्षण र जोर्नीहरूको जाँच गर्ने बित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ । कहिलेकाहीँ बाथरोग कति कडा छ वा कुन प्रकारको हो भन्ने बुझ्न रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ ।

बाथका लक्षण 

चिकित्सकाका अनुसार बाथरोगले कुन अंगमा कति कडा रोग लागेको त्यो अनुसार लक्षण फरक देखिन्छ । जोर्नी वरिपरिको मांसपेशी, लिगामेन्ट, नसा, तत्तुहरुमा दुख्ने, सुनिने, कर्कक हुने, अरर हुनजस्ता सामान्य लक्षण देखिने गर्दछन् । 

त्यसैगरी, कडा खालाको भित्रि अंगमा असर गर्छन् । बाथ भएमा आँखा रातो, सुख्खा हुने, हेर्न गाह्रो हुने, धमिलो हुने र  हेलचेक्राइँ गरेमा दृष्टिनै बन्द हुनेसम्ममा जटिल लक्षण देखिने डा. पौड्याल बताउनुहुन्छ ।  

त्यसैगरी, डा. पौड्यालका अनुसार मुख सुख्खा हुने, घाउ आउने, पेट दुख्ने, खाना खान बित्तिकै पखाला लाग्ने, रगत जाने, मिर्गौलामा समस्या भएर हातखुट्टा सुनिने, उच्च रक्तचाप बढ्ने, पिसाब धारो सानो हुने रगत आउने, पिसाब कमी हुने रगत जाने, मिर्गौलाको जाँच गर्दा प्यलेटिन जाँच गर्दा बढेको देखाउने, फोक्सोमा समस्या हुने, खोकी लाग्ने, दम बढ्ने, उकालो हिड्न गाह्रो हुने, मुटुको समस्या उत्पन्नजस्ता समस्या देखिने गर्छ । 

कस्तो खाना खाने 

डा. पौड्यालका अनुसार बाथ रोगमा खाना यो खाने त्यो नखाने भन्ने हुँदैन । उहाँ भन्नुहुन्छ, “कुन खानाले बाथ बढाउँछ भनेर अहिलेसम्म प्रमाण भएको छैन । खानेकुराले विशेष बाथ बाहेक सबै बाथमा पौष्टिक खानेकुरा खानुपर्छ ।” 

चिकित्सकका अनुसार प्रशस्त मात्रामा फलफूल, हरियो सातपात, रेसादार खानेकुरा खाने, दुध प्रोटिनयुक्त खानेकुरा खाने, पानी खाने र चुरोट, रक्सी, तेल भएका, बढी मसला भएका खानेकुरा, रातोमासु फाइदा नगर्ने हुँदा नखान चिकित्सकको सुझाव । 

युरिक एसिडले बढेको गठिया बाथका बिरामीले रातो मासु, बढी तेल भएका खानेकुरा नखाने, अमिलो दही, मही, अमिलो अचार, मदिरा र धूमपान सेवन नगर्न चिकित्सकको सुझाव छ । 

उपचार विधि 

चिकित्सका अनुसार धेरैजस्ता बाथका बिरामी जोर्नीको दुखाइ लिएर अस्पतालमा पुग्ने डा. पौड्यल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “बिरामी सुरुमा दुखाइ लिएर अस्पताल पुग्ने हुँदा सुरुमा दुखाइ कम गर्ने । यो रोगले अङ्गभग हुने, आँखा नदेख्ने । जस्ता जटिल समस्या निम्तन्छन् त्यसैले रोगको बढ्दो क्रमलाई रोकथाम गर्नुपर्छ ।” 

 हेलचेक्राइँ गर्दा हातखुट्टा बाङ्गो टिङ्गो हुने, अङ्गभङ्ग हुने हुँदा हेलचेक्राइँ नगर्न चिकित्सकको सुझाव छ ।  डा. पौड्यालका अनुसार यो रोग पूर्णरुपमा निको बनाउन नसकिने हुँदा यसलाई नियन्त्रण गर्नु नै यसको प्रमुख उपचार हो । 

यसलाई रोकथाम गर्न शारीरिक कसरत गर्ने, फिजियो थेरापी गर्ने, दुखेको ठाउँमा सेक्ने, मलमपट्टी गर्न डा. पौड्यालको सुझाव छ । 

जथाभावी औषधि खाँदा विभिन्न अन्य स्वास्थ्य समस्या निम्तने हुँदा चिकित्सकको सल्लाह अनुसार औषधि खान चिकित्सको सुझाव छ । रोगले इम्युनो सिस्टम कमजोर बनाउने हुँदा इम्युनोसिस्टम बलियो बनाउने खानेकुरा खान चिकित्सको सुझाव छ । 

त्यसका अलाव विभिन्न फ्लु, निमोनियालगायतका कडा खालका इन्फेक्सनबाट छिटो सङ्क्रमित हुने हुँदा यसबाट बच्न त्योविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ । त्यो बाहेक घाममा बस्ने, मन बलियो बनाउन योगा ध्यान गर्दा फाइदा हुने चिकित्सको भनाइ छ  ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।