• २३ असार २०८१, आइतबार

विद्यार्थीलाई न्यानो कपडा वितरण

blog

बालबालिकाका लागि विद्यालयका प्रधानाध्यापकलाई न्यानो कपडा प्रदान गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एक हजार पाँच सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा (ट्रेक सुट) वितरण गरेको छ । जाडो मौसम सुरु भएसँगै गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । 

सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाकाअनुसार सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्दै आएका एक हजार ५५० जना विद्यार्थीलाई ट्रेक सुट वितरण गरिएको हो । गाउँपालिकाका ७ वटै वडाका ३८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (ट्रेक सुट) निःशुल्क वितरण गरिएको बेघाले बताउनुभयो ।

जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले न्यानो कपडा वितरण गर्ने योजना बनाएको उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो । गाउँपालिकाका अधिकांश वडाहरू निक्कै चिसो क्षेत्र भएकाले यो समयमा जाडोकै कारण विद्यालय आउन नसक्ने अवस्थाका बालबालिकाहरूलाई न्यानो कपडा वितरणले राहत पुगेको उपाध्यक्ष कडरियाको भनाइ छ ।

यस्तै, न्यानो कपडा वितरण कार्यक्रमले कक्षा १ देखि ५ सम्ममा अध्ययन गरिरहेका बालबालिकालाई धेरै राहत पुगेको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो । जाडो मौसममा न्यानो कपडाले बालबालिका निरन्तर विद्यालय जाने वातावरण बनाउन साथै उनीहरूको स्वास्थ्य सुरक्षाका लागि राहत पुग्ने विश्वास राखिएको अध्यक्ष राईले बताउनुभयो । 

न्यानो कपडा (ट्रेक सुट) भने विद्यालयका प्रधानाध्यापकहरूलाई गाउँपालिका कार्यालयमा बोलाएर सम्बन्धित विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्याका आधारमा वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बेघाले जानकारी दिनुभयो । उहाँकाअनुसार न्यानो कपडा खरिद गर्न गाउँपालिकाले १० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त रकमले आवश्यक न्यानो कपडा खरिद गर्नलाई अपुग भएपछि थप रकम व्यवस्था गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

यता, हिमाली जिल्ला भएकाले हिउँद मौसममा ताप्लेजुङमा निक्कै चिसो हुने गर्दछ । हिउँद मौसममा सिदिङ्वा गाउँपालिकाको वडा नं. १ कालिखोला, वडा २ सादेवा, वडा ३ आङ्खोप र वडा ७ सुरुखिमको माथिल्लो भेगमा हिउँ पर्ने गर्दछ । अहिले चिसो बढ्दै गएकाले जिल्लाको जनजीवन पनि प्रभावित हुँदै गएको छ ।