• १२ मंसिर २०८१, बुधबार

तनहुँमा बढ्दै घरेलु हिंसा

blog

अमरराज नहर्की  
तनहुँ, पुस ५ गते ।
 तनहुँमा घरेलु हिंसा बढ्दै गएको छ । प्राप्त तथ्याङ्कले जिल्ला प्रहरी कार्यालय तनहुँमा यससम्बन्धी उजुरीहरू बढ्दै गएको देखिएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा घरेलु हिंसासम्बन्धी २६७ वटा ठाडो उजुरीहरू दर्ता भएका छन् । सो सङ्ख्यामध्ये ४१ वटा सामाजिक हिंसाको उजुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कुल दर्ता भएका उजुरीमध्ये १७७ वटाको मिलापत्र भएको, ६० वटा फर्छ्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल)ले जनाएको छ ।

गत साउन महिनादेखि मङ्सिर मसान्तसम्म शारीरिक यातना (कुटपिट), मानसिक यातना (वास्ता नगरेको तथा गालीगलौज), आर्थिक यातना (खान लाउन नदिएको), यौनजन्य यातना, श्रीमान् पीडित भएको (श्रीमती परपुरुषको सम्बन्ध तथा घर छाडी हिँड्ने गरेको), स्थानीयसँग झैँझगडा र गालीगलौजसम्बन्धी ठाडो उजुरीहरू दर्ता भएको महिला सेलकी निमित्त प्रमुख एवम् प्रहरी हवल्दार सुजाता कार्कीले जानकारी दिनुभयो  ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी परेका ठाडो उजुरी उपर सम्बन्धित पक्षहरूलाई छलफल गराई समाधान निकाल्ने गरिएको छ ।

हिंसा बढ्नु समाजका लागि राम्रो सन्देश नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मी बताउनुहुन्छ ।

समाज शिक्षित, जागरूक हुँदै जाँदा हिंसा कम हुनुपर्ने तर नैतिक तथा आध्यात्मिक शिक्षाको कमी भएकाले हिंसा बढ्दै गएको बढेको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७७/०७८ मा घरेलु हिंसासम्बन्धी २११ वटा ठाडो उजुरी दर्ता भएकोमा १६७ वटाको मिलापत्र गरिएको, ३८ वटा अदालती प्रक्रियामा गएको र ६ वटा फर्छ्यौट हुन बाँकी थियो । त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा कुल दर्ता भएका २८६ वटा उजुरीमध्ये २३५ वटाको मिलापत्र भएको, ५१ वटा अदालती प्रक्रियामा गएको, आर्थिक वर्ष २०७६/०७७ मा २११ वटा उजुरी दर्ता भएकोमा १७३ वटाको मिलापत्र भएको, ३८ वटा अदालती प्रक्रियामा गएको सो केन्द्रको तथ्याङ्कले देखाएको छ ।