• ११ मंसिर २०८१, मङ्गलबार

मह काढ्न छाडेर मजदुरीतिर

blog

अविनाश चौधरी

धनगढी, पुस ५ गते । लोपोन्मुख राजी जातिका मानिस गुजाराका लागि जङ्गल र नदीनालामा चहार्दै मौरीको सिकार गर्दथे। दिनभरि जङ्गल घुम्दै मह सङ्कलन गर्ने र गाउँघरमै बिक्री गरेर जीवन गुजारा गर्ने राजी जातिको यो पेसा अहिले सङ्कटमा परेको छ।

बुकबहादुर राजीले भन्नुभयो, “तर अचेल पहिलाको जस्तो मह पाइँदैन।” उहाँले भन्नुभयो, “केही सीमित ठाउँ र सिजनमा मात्रै मह पाइन्छ। त्यो बेला गाउँका १०/१२ जना मह काढ्न जान्छन्। बाँकी अरूले पेसा बदलिसके।”

कैलालीमा सीमान्तकृत राजी समुदायको बसोबास छ। जङ्गलमा गएर मह काढ्ने उनीहरूको पुख्र्यौली पेसा हो। यो काम धेरै जोखिमपूर्ण हुन्छ। समुदायको व्यक्तिको आकर्षण खेतीपातीलगायतका काममा बढ्दै जानुले मह काढ्ने परम्परागत पेसा छोड्दै गएको सो समुदायका व्यक्तिको भनाइ छ। 

भजनी नगरपालिका–९, भुरुवाका रामदेव राजीले भन्नुभयो, “अचेल कमै मान्छे मह काढ्ने काम गर्दछन्। धेरैजसोले यो काम छोडिसके।” 

तोरीको सिजनमा मह मीठो हुने र तराईमा बढी पाइने गरेको राजी समुदायका व्यक्तिको भनाइ छ। यो सिजनमा गाउँका गोले राजी, जाइलान, टक्कीलगायतका व्यक्ति कैलालीको कटासे क्षेत्र, कर्णाली नदीकिनार, पहलमानपुर, मसुरिया क्षेत्रसहित बर्दियासम्म मह काढ्न जाने गर्दछन्। सिजनभरि उतै मह काढ्दै नजिकका गाउँमा बिक्री गर्ने गरिएको जनाइएको छ। 

बुकबहादुरले भन्नुभयो, “गाउँघरमा प्रतिकेजी छ सय रुपियाँमा मह बिक्री गर्छन्। त्यसैबाट गुजारा हुन्छ।”

व्यावसायिक रूपमा मह काढ्ने काम गर्दै आएका राजीहरूले धेरैजसो अँधियामै मह काढ्ने काम गर्ने गरेको जनाइएको छ। सामुदायिक वन क्षेत्रमा मह काढ्दा आधा मह सामुदायिक वनले लिने गर्दछन्। त्यस्तै व्यक्तिको खेतमा रहेका रुखमा मह काढ्दा आधा मह खेतधनीले लिने गरेको जनाइएको छ। पहिले–पहिले सजिलै मह काढ्न पाइए पनि अहिले काढेको मह आधा–आधा भाग लाग्ने गरेकाले यो पेसातर्फ आकर्षण घट्दै गएको वडा सदस्य रामदेवको बुझाइ छ। यसैगरी यो पेसा निकै जोखिमपूर्ण रहेको उहाँ बताउनुहुन्छ। 

उहाँले भन्नुभयो, “मौरीले टोक्दा रुखबाटै खस्ने डर हुन्छ। म पनि मह काढ्न जाने गरेको थिएँ तर मौरीले टोकेर एक दिन आफन्त बेहोस हुनुभयो। त्यो बेलादेखि मैले पनि यो काम छोडेको छु।” मह बिक्री गरेर आम्दानी हुने गरे पनि मह काढ्ने काम निकै जोखिमपूर्ण रहेको उहाँको बुझाइ छ। यसैगरी जङ्गलमा गएर गिठा, जङ्गली तरुल सङ्कलन गर्ने, नदीनालामा माछा मार्नेलगायतका कार्य पनि राजी समुदायले छोड्दै गएका छन्। जङ्गलमा अचेल गिठा र जङ्गली तरुल पाइनै छोडेको रामदेव बताउनुहुन्छ। 

जल, जङ्गलमा आश्रित सीमान्तकृत यो समुदायका मानिस अहिले परम्परागत पेसा छोडेर अन्य कामतिर ध्यान दिन थालेका छन्। 

जीविकोपार्जनका लागि धेरैजसो मान्छे भारतमा काम गर्ने गरेको चक्र राजीले बताउनुभयो। “मैले पनि धेरै समय भारतमै बिताएँ,” उहाँले भन्नुभयो।