• २४ असार २०८१, सोमबार

पुस १५ देखि तीन दिन बुटवलमा सडक खाना महोत्सव हुने

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस ४ गते । बुटवलमा सडक खाना महोत्सव हुनेभएको छ । पुस १५, १६ र १७ गते बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुनेभएको हो ।

बुटवलमा पत्रकार सम्मेलन गरेर महोत्सवबारे आवश्यक तयारी र प्रक्रिया सुरु गरिएको आयोजक होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देही सङ्घका अध्यक्ष रामप्रसाद गौतमले बताउनुभयो । हरेक वर्षहरूमा गर्दैआएको सडक खाना महोत्सवलाई यस पटक अझै व्यवस्थित र उत्कृष्ट बनाउने योजना समेत तय भएको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा प्रख्यात रहेका विभिन्न जातजाति र समुदायका खानाका परिकारहरू समेत रहने महोत्सवमा करिब सयभन्दा बढी स्टल राखिने उहाँले जानकारी दिनुभयो ।

खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम समेत गरिने सङ्घका महासचिव माधवकुमार खनालको भनाइ छ ।

२५ लाख लागतमा महोत्सव हुने बताइएको छ । महोत्सवको आन्तरिक तयारी तीव्र पारिएको र १०१ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति निर्माण गरिएको  होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताउनुभयो ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्ष रोमाकान्त पाण्डे लगायतले बोल्दै पर्यटन क्षेत्र र होटेल व्यवसायी एक अर्काका परिपूरक भएको बताएका छन् । तीन दिनको सो महोत्सवमा प्रवेश निःशुल्क व्यवस्था गरिएको छ ।