शालिग्राम नेपाल
चितवन, पुस ४ गते । भरतपुर विमानस्थल कार्यालयले आन्तरिक व्यवस्थापनमा सुधार गरेको छ । यात्रुलाई सेवासुविधा दिन आन्तरिक व्यवस्थापन व्यवस्थित गरेको भरतपुर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । विमानस्थल प्रवेश गर्ने स्थानदेखि कार्यालयभित्रसम्मको व्यवस्थापनमा विशेष निगरानीसहितको सुविधा दिएको भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक विकले जानकारी दिनुभयो ।
कार्यालय प्रवेश गर्ने स्थानमा आकर्षक ढुङ्गाबाट निर्माण गरिएको धारा, बगैँचा, यात्रु प्रतीक्षालयको व्यवस्थापन, सरसफाइसहितको सुन्दरताका लागि आवश्यक व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
मुख्य भवनभित्र बिरामीका लागि अलग्गै कक्ष निर्माण गरिएको छ भने बच्चाका लागि स्तनपान कक्ष, विशिष्ट व्यक्तिहरूसँग अन्तरक्रिया गर्न पत्रकार सम्मेलन हल, विशिष्ट व्यक्तिका लागि आकर्षक कक्ष, विमानस्थलको धावनमार्ग सुरक्षाका लागि सरसफाइ र फेन्सिङ व्यवस्थापन गरिएको प्रमुख विकले जानकारी दिनुभयो ।
विमानस्थलमा आएका यात्रुलाई चितवनको पर्यटकीय क्षेत्र तथा यहाँको ऐतिहासिक तथा महत्त्वपूर्ण स्थलहरूको जानकारी दिने वृत्तचित्रको व्यवस्था छिट्टै गरिने उहाँले बताउनुभयो । विमानस्थल प्रयोग गरेर जानेहरूले यहाँ राखिएका भिडियो सामग्रीबाट चितवन जिल्लाको विशेषता र यहाँको पर्यटकीय स्थलको जानकारी पाउन सक्ने गरी व्यवस्था मिलाइने बताउनुभयो ।
विमानस्थलको सुन्दरता र सुरक्षाका लागि थप व्यवस्था मिलाइएको छ । विमानस्थलमा रहेका मापदण्डविपरीतका भवनहरू कानुनअनुसार हटाउने र व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता तयारी रहेको उहाँले बताउनुभयो । विमानस्थलको प्रभावित स्थानमा कार्यालयले सोको मापदण्डभन्दा बाहिर रहेर कुनै पनि भवन निर्माण गर्न नदिने गरी भरतपुर महानगरपालिकालाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।
नक्सा पास गराउँदा तोकिएको मापदण्डमा रहेर र विमानस्थलले तोकेको नियमलाई ध्यानमा राखेर मात्र काम गर्नको लागि नागरिक उड्डयन कार्यालयको नियम महानगरपालिकालाई जानकारी गराइएको उहाँले बताउनुभयो । जिल्लाको मेघौली विमानस्थलको प्रभावित स्थान क्षेत्रमा पनि मापदण्ड तोकेर अग्ला संरचना निर्माण गर्न नपाइने गरी नागरिक उड्डयन कार्यालयबाट पत्राचार भएको जानकारी दिनुभयो ।