• ११ मंसिर २०८१, मङ्गलबार

गाउँमै विशेषज्ञ सेवाबाट बिरामी लाभान्वित

blog

शिविरमा सेवा लिने सेवाग्राही । तस्बिर - तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस ४ गते । चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ की  ८५ वर्षीया अम्मा थापालाई पेट दुख्ने र मुटु फुल्ने समस्याले सताएको थियो । उहाँ उपचारका लागि पाल्पा वा बुटवल जान पनि भ्याउनुभएको थिएन । 

चन्द्रकोट गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविरको आयोजना गरेपछि उहाँको समस्या गाउँमै समाधान भएको उहाँले बताउनुभएको छ । उमेरले च्याप्दै गएका कारण उपचारमा जान समस्या भएको भन्दै समय, पैसा दुवैको बचत भएको र गाउँमै उपचार पाउँदा आफूलाई खुसी लागेको उहाँको भनाइ छ ।

यस्तै, सोही स्थानकी नन्दकुमारी खत्रीलाई पाठेघरको समस्या, खान मन नलाग्ने र निद्रा पनि नपर्ने समस्याले सताएको थियो । उहाँको समस्या पनि सोही शिविरबाट समाधान भएको उहाँले बताउनुभयो । 

चन्द्रकोट गाउँपालिका रुपाकोटका ८० वर्षीय मनिराम ढकाललाई पनि पिसाब पोल्ने, घुँडा दुख्ने जस्ता समस्याले सताएको र शिविरबाटै उपचार लिन पाउँदा ठूलो राहत मिलेको बताउनुभएको छ । गाउँमै शिविर सञ्चालनबाट सेवा लिन पाउँदा खुसी लागेको भन्दै समय समयमा गाउँमै शिविर सञ्चालन गर्न उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ । 

चन्द्रकोट गाउँपालिका वडा नम्बर २ की दीपा खरेलले बुवाको पिसाबसम्बन्धी समस्या र अन्य समस्याहरूको उपचार गाउँमै गराउन पाउँदा समय र पैसा बचत भएको बताउनुभयो ।

यता चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले स्थानीय सरकार जनताको स्वास्थ्यप्रति गम्भीर रहेका भन्दै गाउँमा अझै पनि रोग पालेर बस्ने स्थानीयको समस्यालाई समाधान गर्न शिविर सञ्चालन गरेको बताउनुभयो ।

शुक्रबारदेखि दुई दिन चलेको शिविरबाट विभिन्न सहयोगी संस्थाहरूको सहयोगमा एकहजार ६२३ जनाले सेवा लिएका छन् । जसमा एक हजार १०६ जना महिला र ५१७ जना पुरुषले सेवा लिएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।