रवीन्द्र उप्रेती
बर्दिबास, पुस ४ गते । महोत्तरीको गौशाला नगरपालिका १ स्थित एभरेष्ट चिनी मिलले सिजन ०७९/८० का लागि उखु क्रसिङको तयारी गरेको छ । चिनी मिलले पुस महिनाको पहिलो साताभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी थालेको हो ।
कारखानाभित्र प्राविधिक तयारीलाई तीव्रता दिएको छ भने उखु कृषकलाई चलानसमेत वितरण प्रक्रिया सुरु गरेको एभरेष्टले जनाएको छ ।महाप्रबन्धक कृष्णचन्द्र दासले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गरी करिब सवा २ लाख क्विन्टल चिनी उत्पादनको लक्ष्य रहेको जनाउनुभयो ।
मिल सञ्चालनको तयारीलाई एकलौटी निर्णय भन्दै किसानदेखि उखु उत्पादक कृषक सङ्घसमेत असन्तुष्ट देखिएका छन् । नयाँ मूल्य नतोकी कारखाना सञ्चालन गरे आफूहरुले सहयोग नगर्ने सङ्घले स्पष्ट पारेको छ ।
उद्योगपतिको सहभागितामा शुक्रबार काठमाडौंमा बोलाएको बैठकमा चालु सिजनको लागि पुरानै मूल्यमा इन्धनबापत प्रति क्विन्टल १५ रुपियाँ मात्र थप गर्ने मन्त्रालयको प्रस्तावलाई उखु कृषकले अव्यावहारिक, किसानमारा र निर्मम भएको प्रतिक्रिया दिएका छन् ।
बैठकमा उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले औपचारिक सहभागिता नजनाएको कारण पनि १५ रुपियाँको प्रस्ताव ‘मनोगत र एकलौटी’ भएको उखु कृषकको प्रतिक्रिया छ ।
कृषकहरुले गत वर्षको मूल्यमा ११० रुपियाँ थप गरी प्रति क्विन्टल ७०० रुपियाँ माग गर्दै आएका छन् । गत वर्ष उद्योगले उखुको प्रति क्विन्टल ५२० र सरकारले अनुदानबापत ७० गरी ५९० रुपियाँ कायम गरेको थियो ।
महाप्रबन्धक दासले अहिले ‘शून्य रेट’ मा उखु खरिद गरिने बताउनुभयो, ‘नयाँ दर रेट घोषणा भएपछि सोहीअनुसार भुक्तानी गर्ने सर्तमा चलान वितरण सुरु गरेका छौँ ।’ उखु कृषक तथा विभिन्न सङ्घसंस्थाले सहयोग नगरे उत्पादन र आपूर्ति नै प्रभावित हुनसक्ने उहाँ स्वीकार्नुहुन्छ ।
एभरेष्ट चिनी मिलको सिजनमा ६० लाख क्विन्टल उखु क्रसिङ गरी करिब साढे ५ लाख क्विन्टल चिनी उत्पादन गर्ने क्षमता छ । तर किसानले लागतअनुसारको मूल्य नपाउँदा यसको असर उखु खेतीमा पर्दै आएको छ । ५ वर्षअघिसम्म ५८ लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको एभरेष्ट चिनी मिलले गत वर्ष १९ लाख ९० हजार ८६५ क्विन्टल मात्र उखु क्रसिङ गरी एक लाख ८० हजार १५९ क्विन्टल चिनी उत्पादन गरेको थियो ।
चालु सिजनमा कारखानाले २५ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य लिए पनि यसपटक क्रसिङ १८ लाख क्विन्टलमा झर्ने उखु कृषकको अनुमान छ । ‘कृषकको मर्का नबुझ्ने हो भने आउँदो केही वर्षभित्रै उखु अभावकै कारण मुलुकका चिनी मिल धराशायी हुने सम्भावना बढ्दै गएको छ’ कुशवाहाले भन्नुभयो ।