• १२ मंसिर २०८१, बुधबार

सडकमै लाग्छ हाटबजार

blog

चरीकोट समाचारदाता

चरीकोट, पुस ४ गते । दोलखाको सदरमुकाम चरीकोटमा लाग्ने हाटबजार जिल्लाकै पुरानो हाटबजार हो। तर, अहिलेसम्म बजार व्यवस्थित हुन नसक्दा गाउँबाट स्थानीयले उत्पादन गरेको हरियो तरकारी, फलफूल, मकै, कोदोलगायतका खाद्यवस्तु सडक ओगटेर बिक्री गरिँदै आएको छ।

हरेका शनिबार चरीकोट सातदोबाटो चोकमा लाग्ने हाटमा बिक्री र खरिदकर्ताको भीड लाग्दा सवारीसाधन अस्तव्यस्त भई सडक नै अवरुद्ध हुने गरेको छ। भीमेश्वर नगरपालिकाले हाट बजार व्यवस्थित गर्न सकेको छैन। 

सडकमा लाग्ने हाटका कारण सडकमा उड्ने धुलोले हरियो तरकारीलगायतका खाद्यान्न ढपक्क ढाक्ने गरेको छ।  व्यस्त रहने सडक ओगटेर बजार लगाउँदा दुर्घटनाको समेत जोखिम बढेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले बताउनुभयो। ओरालो सडक छ, त्यही सडक ओगटेर बजार लाग्ने गरेको उहाँको भनाइ छ। चरीकोट–जिरी सडक ढाकेर यहाँ बजार लाग्दै आएको छ। 

बजारमा तरकारी बिक्री गनै लैजाँदा समय लाग्ने तर सडकमै राख्दा तुरुन्त बिक्री हुने स्थानीय किसान कृष्ण अधिकारीले बताउनुभयो। 

भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले कालिञ्चोक माध्यमिक विद्यालयअगाडिको क्षेत्रमा हाटबार व्यवस्थापन गर्ने तयारी भइरहेको र अब बस्ने कार्यपालिकाको बैठकमा सोबारे निर्णय गर्ने बताउनुभयो।