• १२ मंसिर २०८१, बुधबार

धमाधम निर्माण हुँदै प्रशासकीय भवन

blog

अर्जुन काफ्ले

स्याङ्जा, पुस ३ गते । सङ्घीयता कार्यान्वयनसँगै ११ स्थानीय तह भएको स्याङ्जामा प्रशासकीय भवन निर्माणले तीव्रता पाएको छ । पुराना तीन नगरपालिकाको पुरानो आफ्नो भवनबाट काम थालेकोमा नयाँ पालिका बनेको हरिनास गाउँपालिकाले पुरानो गाउँपालिका सामान्य मर्मत गरेर काम अगाडि बढाएको हो । 

कालिगण्डकी, आँधीखोला र भिरकोट गाउँपालिकाले नयाँ भवन निर्माण सक्दा गल्याङ नगरपालिका, अर्जुन चौपारी, बिरुवा, फेदिखोला गाउँपालिकाको भवन निर्माण तीव्र रूपमा अघि बढाइएको हो । यहाँको कालिगण्डकीमा श्याम सुन्दर निर्माण सेवाले सात करोड ७० लाख रुपियाँमा २२ कोठाको अपाङ्गमैत्री भवन निर्माण गरेको छ । निर्माण सेवाले २०७७ असार ३० गते दुई वर्षमा सक्नेगरी सम्झौता गरेको भए पनि ढिला गरेर निर्माण सकेको हो ।

यस्तै, भीरकोट नगरपालिकाको सात करोड ३८ लाखको लागतमा फेवा गजिन्द्र निर्माण सेवा जेभीले नयाँ भवनको निर्माण गरेको हो । अपाङ्गमैत्री शौचालय, लिफ्टिङ सेवासहित जिल्लामा पहिलो पटक निर्माण भएको भवन चार रोपनीमा तयार भएको छ ।  

अन्डर ग्राउण्ड पार्किङ रहेको भवन निर्माण सेवाले २०७५ असोज २ गते सम्झौता गरी निर्माण गरेको हो । 

यस्तै आँधीखोला गाउँपालिकाको कृषिमा १७ रोपनी क्षेत्रफलमा पाँच करोड ६४ लाख ४२ हजारको लागतमा देव एण्ड सागर क्याराभान जेभीले भवन निर्माण सम्पन्न गरेको छ । अर्जुन चौपारी गाउँपालिकाको किरातेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी प्रालि सुकेधारा काठमाडौंले २०७७  पुस १५ गतेदेखि १५ महिनामा काम सक्नेगरी सम्झौता गरेकोमा थप एक वर्ष बित्न लाग्दा भवन अन्तिम चरणमा पुगेको छ । 

छ करोड ५६ लाख २८ हजार ५३२ रुपियाँ ९५ पैसामा निर्माणाधीन भवन लिफ्ट सहित पालिकाले निर्माण अगाडी बढाएको हो । पालिका भवन साढे चार तला एक हल सहित ३२ कोठाको रहेको छ ।