• १२ साउन २०८१, शनिबार

यू–२३ भलिबल टोलीको बिदाइ

blog

विदाइ कार्यक्रममा नेपाली भलिबल टोली तस्बिर : गोरखापत्र

काठमाडौं, पुस ३ गते । बङ्गलादेशमा मंगलबारदेखि सुरु हुने बंगबन्धु एसिएन यू–२३ एसिएन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप र सीएभीए बीच भलिबल च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल भलिबल सङ्घले आइतबार नेपाली खेलाडी टोलीको बिदाइ गरेको हो । सेन्ट्रल जोन पुरुष भलिबल डिसेम्बर २० देखि २६ तारिखसम्म हुनेछ । यसैगरी बीच भलिबल डिसेम्बर २६ देखि ३१ तारिखसम्म आयोजना हुनेछ । नेपाली टोलीलाई एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द लगायतले बिदाइ गर्नुभयो ।

नेपाली टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछ । सेन्ट्रल जोन पुरुष भलिबलमा आयोजक बङ्गलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । नेपालले आयोजक बङ्गलादेशसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । 

च्याम्पियनसिपका लागि नेपालले यसअघिनै खेलाडी टोलीको घोषणा गरिसकेको छ । टोलीमा धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रूपबहादुर गुरौ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट् भण्डारी, गौरव पाण्डे र भिमराज गुरुङ हुनुहुन्छ । 

यसैगरी बीच भलिबलमा महिलातर्फ कोपिला उप्रेती र कमला पुन तथा पुरुषमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार हुनुहुन्छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश प्रसाद भट्ट र प्रशिक्षक भरत यादव  हुनुहुन्छ ।