काठमाडौँ, असार ३१ गते । मच्छिन्द्र र सङ्कटा क्लबले एन्फा यु–१६ युथ लिग फुटबलमा जित निकालेका छन् ।
एन्फा मैदान सादतोबाटोमा मङ्गलबार भएको खेलमा मच्छिन्द्रले श्री भगवती क्लबलाई ६–० गोलले हरायो ।
मच्छिन्द्रको जितमा विकास थापाले ह्याट्रिक गर्नुभयो । उहाँले २५औँ, ८०औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको थियो ।
यस्तै राहुलकुमार योन्जनले २०औँ र पहिलो हाफको इन्जुरी समयमा गरी दुई गोल गर्नुभयो । अर्को गोल करन दामीले ९०औँ मिनेटमा थप्नुभयो । लिगमा अपराजित रहेको मच्छिन्द्रले चार खेलबाट १२ अङ्क बनाएको छ ।
यस्तै अर्को खेलमा सङ्कटा क्लबले विभागीय टोली एपिएफ क्लबलाई ६–१ गोलले हरायो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा एपिएफले सुरुवाती अग्रता लिएको थियो ।
एपिएफका लागि प्रशिश खनालले ४७औँ मिनेटमा गोल गर्नुभयो । त्यसपछि सङ्कटाका लागि प्रज्वलकुमार लुम्लेले दुई गोल गर्नुभयो ।
सुमित बलाम्पाकी, पेम्बा तामाङ, आयुष बराम र नवराज तिरुवाले एक एक गोल गर्नुभयो । चार खेलमा तेस्रो जित निकालेको सङ्कटाले नौ अङ्क बनाएको छ । एपिएफले समान खेलमा तेस्रो हार खेपेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।
यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।