• २३ वैशाख २०८१, आइतबार

इतिहास रच्ने तर्खरमा मेसी र एमबापे

blog

दोहा, पुस ३ गते । विश्वका सर्वकालीन महान् खेलाडीको सूचीमा सामेल हुन लियोनेल मेसीका लागि फ्रान्सविरुद्ध आइतबार हुने विश्वकपको फाइनल गर या मरको खेल हुनेछ। हुनतः प्रायजसो प्रतिष्ठित उपाधि जितिसकेको भए पनि अहिलेसम्म आफ्नो देश अर्जेन्टिनालाई विश्वकप जिताउन नसक्दा मेसीलाई सर्वकालीन महान् खेलाडीको सूचीमा अटाउन मिल्दैन भन्ने बहस चल्ने गरेको छ।

फ्रान्सविरुद्धका खेलले मेसी विश्वकप उपाधि जितेर पेले र म्याराडोनाको समकक्षमा पुग्छ या पुग्दैन भन्ने निर्णय गर्नेछ। पेले र म्याराडोनालाई विश्वका दुई सर्वकालीन महान् खेलाडीका रूपमा लिइन्छ। 

मेसीको यस गौरवको अगाडि अहिले उपाधि रक्षा अभियानमा रहेको फ्रान्स र उसका प्रमुख खेलाडी किलियन एमबापे बाधक भएर उभिएको छ। एमबापेलाई क्रिस्टियानो रोनाल्डो र मेसीको उत्तराधिकारीका रूपमा पनि लिइएको छ। रोनाल्डो र मेसी यस पुस्ताका दुई सर्वश्रेष्ठ फुटबलर हुनुहुन्छ। एमबापे पनि इतिहास रच्ने तरखरमा हुनुहुन्छ। फ्रान्सले भोलि उपाधि जितेमा २३ वर्षीय फरवार्ड एमबापे आफ्नो सुरुका दुई विश्वकपमा नै उपाधि जितेर पेलेको दुर्लभ कीर्तिमानको बराबर गर्न सफल हुनुहुनेछ। त्यसपछि उहाँ पेलेको तीन विश्वकप जित्ने एक मात्र खेलाडीको कीर्तिमानको नजिक पनि पुग्नुहुनेछ।

सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा एमबापे मात्र १९ वर्षको हुनुहुन्थ्यो। सो विश्वकपको फाइनलमा एमबापेले प्रेरणादायी प्रदर्शन मात्र गर्नुभएन, गोल पनि गर्नुभयो। जसले उहाँ विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बन्नुभयो। सन् १९५८ मा भएको विश्वकप फाइनलमा पेलेले १७ वर्षकै उमेरमा गोल गरेर कीर्तिमान राख्नुभएको छ।

फाइनलमा मेसी र एमबापेबीच अर्को प्रतिस्पर्धा पनि हुनेछ, गोल्डेन बुट जित्ने। यी दुवै खेलाडी पाँच–पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। विश्वकपको सर्वाधिक गोलकर्तालाई दिने यो अवार्डमा तीन असिस्ट पनि गरेकाले मेसी अगाडि हुनुहुन्छ। मेसीले फाइनल जिते पनि नजिते पनि विश्वकपमा २६ खेल खेल्ने पहिलो खेलाडी भने बन्नुहुनेछ। अहिले उहाँ सर्वाधिक विश्वकप खेल खेल्ने सूचीमा जर्मनीका लोथार म्याथ्युजसँगको बराबरीमा हुनुहुन्छ। आठ वर्षअघि जर्मनीसँग फाइनलमा पराजित भएर विश्वकप उपाधि जितबाट वञ्चित हुँदा मेसीले गोल्डेन बल जित्नुभएको थियो।

यस पुस्तामा विश्वकपमा फ्रान्सले जस्तो आधिपत्य अन्यले कायम गरेका छैनन्। सन् १९५८, १९६२ मा ब्राजिलपछि विश्वकप फुटबल उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्नबाट फ्रान्स अब सँघारमा छ। ब्राजिलबाहेक सन् १९३४ र १९३८ मा इटाली पनि लगातार विश्वकप च्याम्पियन बनेको थियो। फ्रान्स चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो। अझ फ्रान्स पछिल्ला सात विश्वकपमा चौथो पटक फाइनलमा खेल्दैछ। जुन कीर्तिमान पनि हो। फ्रान्स पछिल्ला चार पटक सेमिफाइनलमा निराश हुनु परेको छैन। यसमध्ये फ्रान्सले दुई पटक उपाधि जितेको छ भने एक पटक इटालीसँग टाइब्रेकरमा हारेको थियो। सन् २००६ मा फ्रान्स फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा हारेपछि च्याम्पियन बन्न सकेन। यसबीच फ्रान्सले मिचेल प्लाटिनी, जिनेदिन जिदान र थियरी हेनरीजस्ता महान् खेलाडी विश्वलाई दियो। अहिले एमबापे विश्व फुटबलमा राज गर्ने खेलाडीका रूपमा प्रस्तुत हुनुभएको छ।

फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाँका लागि पनि उपाधि जितले ठूलो महत्व राख्छ। उहाँले एक कप्तान र प्रशिक्षकका रूपमा विश्वकप उपाधि जितिसक्नुभएको छ। अर्जेन्टिनालाई हराएर उहाँ एक पटक कप्तानका रूपमा र दुई पटक प्रशिक्षकका रूपमा विश्वकप जित्ने व्यक्ति बन्ने सँघारमा रहेको हुनुहुन्छ। 

फ्रान्ससरह अर्जेन्टिना पनि तेस्रो पटक विश्वकप उपाधि जित्ने दाउमा छ। यसअघि अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा विश्वकप उपाधि जितेको थियो। आइतबारको फाइनल जसले जिते पनि सो टिम सबभन्दा बढी विश्वकप जित्ने टिमको सूचीमा चौथो स्थानमा उक्लनेछ। 

सधैँ दावेदारका रूपमा रहेर पनि अर्जेन्टिनाले विश्वकप उपाधि नजितेको ३६ वर्ष भइसकेको छ। सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएपछि म्याराडोना अर्जेन्टिनाका सदाबहार नायक बन्नुभएको थियो। त्यसपछि उहाँ विश्व फुटबलकै आदर्श बन्नुभयो। अर्जेन्टिनाले फाइनल जितेमा मेसी म्याराडोनाकै ‘लेभल’मा पुग्नुहुनेछ। सन् १९८६ मा म्याराडोनाका प्रेरणादायी खेलमा अर्जेन्टिनाले विश्वकप जितेजस्तै अहिले मेसीले आफ्नो देशका लागि पनि त्यस्तै प्रदर्शन गरिरहनुभएको छ। यस क्रममा उहाँले पाँच गोल र तीन असिस्ट गर्नुभएको छ। मेसीकै कारण अहिले विश्व नै अर्जेन्टिनाको पक्षमा उभिएको छ। कतारको लुसैल रङ्गशालामा उपस्थित ८० हजार दर्शकमा पनि अर्जेन्टिनाका समर्थककै बाहुल्य हुनेछ। यस विश्वकपमा मोरक्कोले मात्र अर्जेन्टिनाले भन्दा बढी समर्थक कमाएको छ। यस अर्थमा अर्जेन्टिनाका लागि फाइनल होम गेमजस्तै हुनेछ। 

फ्रान्सका प्रशिक्षक डेस्चाँले पनि यो कुरा थाहा छ। उहाँ भन्नुहुन्छ, “तटस्थ दर्शकहरू मेसीलाई विश्वकपको उपाधिसहित बिदाइ गर्न अर्जेन्टिनाको समर्थनमा हुनेछ। अझ फ्रान्समै रहने केही व्यक्ति पनि मेसीले विश्वकप जितोस् भन्ने चाहना राख्छ तर मलाई विश्वमै एक्लो भए पनि केही फरक पार्दैन।

हुन पनि अर्जेन्टिनालाई फाइनल सहज भने हुनेछैन। फ्रान्सको टिममा अहिले पनि पर्याप्त अनुभवी खेलाडी छन्। त्यसैले आफ्नो उत्कृष्ट प्रदर्शन नगर्दा पनि फ्रान्सले जित हात पारिरहेको छ। विश्वकपअघि पल पोग्बा, एनगोलो कानटे, करिम बेन्जामा र प्रस्नेल किम्पेम्बेजस्ता खेलाडी खेल्न नसक्ने भए पनि प्रशिक्षक डेस्चाँले फ्रान्सको स्तर कम हुन दिनुभएको छैन। बेन्जामा त अहिलेका विश्वका सर्वश्रेष्ठ खेलाडीलाई प्रदान गर्ने बालन डी ओर अवार्डका विजेता हुनुहुन्छ।

फ्रान्स निकै स्वाभाविक फुटबल खेल्ने गर्दछ। उसको डिफेन्स सङ्गठित छ भने प्रत्याक्रमणमा सजिलै विपक्षी डिफेन्डरलाई परास्त गर्ने मास्टर खेलाडीहरू छन्। जसमा एमबापेको नाम सबभन्दा अगाडि आउँछ। फ्रान्सेली टिममा एन्टोनियो ग्रिज्म्यानका रूपमा मिडफिल्ड प्लेमेकरको उदय भएको छ। एजेन्सी