• १२ मंसिर २०८१, बुधबार

सेती नदीलाई एक रुपियाँ

blog

कास्की समाचारदाता 

कास्की, पुस २ गते । युनाइटेड क्लबले ११औँ पोखरा महोत्सवबाट सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउन पहलकदमी लिने भएको छ। महोत्सवकै आयोजना गरी प्रतिटिकट एक रुपियाँ छुट्याउँदै आएको क्लबले आगामी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा गर्ने महोत्सवबाट बचत भएको रकममध्ये केही यसका लागि छ्ट्याउने भएको हो।

पोखरा महोत्सवको सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरूको बैठकले महोत्सवबाट सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि अग्रसर हुने निर्णय गरेको हो। स्थापना कालदेखि नै पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमी गरेको क्लबले १०औँ पोखरा महोत्सवसम्म आइपुग्दा ५८ लाख ८५ हजार २३० रुपियाँ यसका लागि हस्तान्तरण गरिसकेको छ।

अहिले चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हाल आएर चिडियाखाना राष्ट्रिय गौरवको योजनाअन्तर्गत रही यसको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार मातहत रही जिल्ला डिभिजन वन कार्यालय कास्कीले लिइसकेकाले क्लबले आगामी दिनमा नयाँ पहलकदमी थाल्न लागेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो।

क्लबले महोत्सवबाट क्लबको जग्गा भएको स्थान पोखरा–२६, अर्चलेमा भौतिक निर्माणका लागिसमेत रकम छुट्याउने भएको छ। पोखरा महोत्सवमा ४० देखि ५० स्टल निःशुल्क रूपमा प्रदान गरिने भएको छ। जुन गैरनाफामूलक संस्था, पर्यटनसम्बन्धी स्टल, होम स्टेको प्रचारप्रसारका स्टल, सचेतनामूलक स्टलले पाउने प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयो। महोत्सवमा २५८ स्टल रहनेछन्।

महोत्सवमा ख्यातिप्राप्त लोकदोहोरी गायक–गायिकासँगै ख्यातिप्राप्त ब्यान्डहरू, नेपाली संस्कृति झल्कने झाँकी तथा नृत्यसमेतको प्रस्तुति रहनेछ।