• १२ साउन २०८१, शनिबार

कैलालीबाट निर्वाचित सबै जनप्रतिनिधिले बुझाए निर्वाचन खर्च

blog

अविनाश चौधरी

धनगढी, पुस १ गते। कैलालीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सबै जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।

यो जिल्लाबाट प्रतिनिधि सभा सदस्यतर्फ निर्वाचित पाँच र प्रदेश सभा सदस्यमा निर्वाचित १० जनाले निर्वाचन खर्च विवरण बुझाएका हुन्। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार क्षेत्र नं. १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ चौधरी, २ बाट निर्वाचित अरुणकुमार चौधरी, ३ बाट निर्वाचित गंगाराम चौधरी, ४ बाट निर्वाचित वीरबहादुर बलायर र ५ बाट निर्वाचित डिल्लीराज पन्तले निर्वाचन खर्च विवरण बुझाउनु भएको हो। 

निर्वाचन क्षेत्र नं. १, २, ३ मा नागरिक उन्मुक्ति पार्टी र ४, ५ मा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन्। 

यसैगरी, प्रदेश सभा सदस्यमा विजयी हुनु भएका क्षेत्र नं. १ बाट निर्वाचित कैलाश चौधरी, लक्ष्मणकिशोर थारु, २ बाट निर्वाचित रामेश्वर चौधरी, कमलबहादुर शाह, ३ बाट निर्वाचित घनश्याम चौधरी, खुशीराम डङ्गौरा थारुले निर्वाचन खर्च बुझाइ सक्नु भएको छ। 

यस्तै, क्षेत्र नं. ४ बाट निर्वाचित दीर्घ सोडारी, प्रकाश बम, ५ बाट निर्वाचित रमेशसिंह धामी र प्रकाश देउवाले निर्वाचन खर्च विवरण बुझाइ सक्नु भएको छ। प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित भएका सबैले निर्वाचन खर्च विवरण बुझाइ सक्नु भएको सूचना अधिकारी चौधरीले बताउनुभयो।

कैलालीबाट प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन लडेका ८८ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्। 

प्रतिनिधि सभा सदस्यको चुनाव लडेका ३८ र प्रदेश सभा सदस्यको चुनाव लडेका ५० जनाले हालसम्म आ–आफ्नो निर्वाचन खर्च विवरण बुझाएका हुन। निर्वाचन भएको एक महिनाभित्रै सबै उम्मेदवारले चुनावको खर्च विवरण निर्वाचन आयोगमा बुझाउने व्यवस्था छ। 

यो जिल्लामा प्रतिनिधि सभा सदस्यको पाँच सिटका लागि ४८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। 

तोकिएको समयमा उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाएमा आयोगले जरिवाना गर्ने व्यवस्था छ। विवरण बुझाउने समय अझै पनि केही दिन बाँकी रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताउनुभयो। गत मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा यो जिल्लाबाट १२६ जना उम्मेदवार बनेका थिए।