• २० असोज २०८१, आइतबार

सहकारीमार्फत गरिबी निवारण सम्भव

blog

काठमाडौँ, पुस १ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रको विकासबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी गरिबी निवारणमा सहयोग पुग्ने बताउनुभएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा प्रकाशित ‘सहकारी सुशासन’ नामक बुलेटिनको बिहीबार विमोचन गर्दै उहाँले कुनै पनि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने अवस्था आउन नदिन सरोकारवालालाई आग्रह गर्नुभयो । 

मन्त्री श्रेष्ठले भन्नुभयो, “समस्यामा रहेका सहकारी संस्थाको सङ्ख्या औँलामा गन्ने मात्रै छ, सहकारीले गरेका राम्रा कामको भने प्रचारै हुँदैन । उद्देश्यअनुरूप चलेका थुप्रै सहकारी संस्थाले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेका छन् ।”

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारीले नै समुदायको सशक्तीकरण गर्ने, समुदायलाई उत्पादकत्वमा सहभागी गराउने, रोजगारी सिर्जना गर्ने र आर्थिक समृद्धि गराउने काममा पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले संविधान र ऐनमा भएको व्यवस्थाअनुरूप तीनवटै तहगत सरकारका निकायबाट प्रभावकारी रूपमा नियमन र अनुगमन गर्नुपर्ने बताउनुभयो ।