• २० असोज २०८१, आइतबार

करिब साढे बाह्र अर्ब विदेशी विनिमय सञ्चिति

blog

काठमाडौँ, पुस १ गते । मुलुकमा कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपियाँ बराबरको मुलुकको कुल विदेशी मुद्रा सञ्चिति रहेको छ । यो गत असारको तुलनामा ११ अर्ब ६६ करोड रुपियाँ अर्थात् २ दशमलव ५ प्रतिशतले बढेको हो । असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ बराबर थियो । 

नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (चालू आर्थिक वर्षको पहिलो चार महिनासम्म) प्रतिवेदनअनुसार गत भदौ महिनामा ११ खर्ब ९८ अर्ब १६ करोड रुपियाँ र असोजमा १२ खर्ब ६४ अर्ब ६६ करोड रुपियाँ बराबर थियो । असोजको तुलनामा कात्तिक महिनामा विदेशी विनिमय सञ्चिति ३६ अर्ब ७६ करोड रुपियाँले घटेको छ । 

मुलुकको विदेशी विनिमय सञ्चिति कात्तिकमा नौ अर्ब ६३ करोड अमेरिकी डलर रहेको छ । यो गत असारको तुलनामा नौ करोड र असोजको तुलनामा १५ करोड अमेरिकी डलरले बढी हो । 

चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रमा रहेको विदेशी मुद्रा सञ्चितिले ९.७ महिनाको वस्तु र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ । 

झन्डै साढे ३५ अर्ब चालू खाता घाटा 

कात्तिक मसान्तसम्ममा चालू खाता ३५ अर्ब ४० करोड रुपियाँले घाटामा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब २० अर्ब ९१ करोड रुपियाँले घाटामा थियो । असोजको तुलनामा कात्तिकमा एक अर्ब १२ करोड रुपियाँले बढेको छ । अमेरिकी डलरमा चालू खाता २८ करोडले घाटामा छ । अघिल्लो वर्षको कात्तिकमा एक खर्ब ८६ अर्ब अमेरिकी डलरले घाटामा थियो । 

गत साउनमा १६ अर्ब २६ करोड रुपियाँले चालू खाता घाटामा थियो, जुन बढेर भदौमा ३७ अर्ब १८ करोड र असोजमा ३४ अर्ब २८ करोड रुपियाँ रहेको थियो । 

शोधनान्तर स्थितिमा सुधार

चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोड रुपियाँले बचतमा रहेको छ । यो साउनमा २२ अर्ब ६३ करोड र भदौमा २३ अर्ब ८९ करोड रुपियाँले घाटामा थियो । 

असोजको तुलनामा कात्तिकमा सात अर्ब ६० करोड रुपियाँले शोधनान्तर स्थितिमा सुधार भएको हो । शोधनान्तर स्थितिमा सुधार आई असोजमा १२ अर्ब ४३ करोड रुपियाँ बचतमा थियो । 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । आयातमा गरिएको कडाइ र विप्रेषणमा भएको सुुधारका कारण शोधनान्तर बचतमा रहेको हो । 

अमेरिकी डलरमा समेत यस अवधिमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा छ । समीक्षा अवधिमा गत आवमा एक अर्ब २७ करोडले घाटामा थियो । 

विप्रेषण आप्रवाह २० प्रतिशतले बढ्यो 

यो वर्षको साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २० दशमलव ४ प्रतिशतले बढेर तीन खर्ब ७८ अर्ब चार करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव ८ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव ३ प्रतिशतले घटेको थियो ।

चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १०२ दशमलव ५ प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार १९६ पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४६.४ प्रतिशतले बढेर ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४९.१ प्रतिशतले बढेको थियो । मुद्रास्फीति ८.०८ प्रतिशत कात्तिक महिनामा मुद्रास्फीति ८ दशमलव ०८ प्रतिशत रहेको छ । 

वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति असोज मसान्तसम्म ८ दशमलव ५० प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको कात्तिकमा भने मुद्रास्फीति ६ दशमलव ०४ प्रतिशत मात्र रहेको थियो ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ६३ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ ।