• १२ साउन २०८१, शनिबार

नेपाली क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरको राजीनामा

blog

मनोज प्रभाकर । फाइल तस्बिर

काठमाडौं, मंसिर २९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिनुभएको छ । भारतीय नागरिक प्रभाकरले बिहीबार नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पत्र लेख्दै मङ्सिर २९ गतेबाटै लागु हुनेगरी राजीनामा दिएको क्यानले जनाएको छ ।

चार महिनाअघि मात्र प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएको थियो । नेपाली टोलीले नामिबियामा भएको आइसिसी विश्वकप लिग–२ मा राम्रो प्रदर्शन गर्न नसकेको, खेलाडीबीच ग्रुप विभाजन भएको प्रति प्रशिक्षक मनोज असन्तुष्ट रहनुभएको थियो ।

क्यानले पनि प्रभाकरले खेलाडीको प्रशिक्षण शैली बिगारेको प्रति असन्तुष्टि जनाउँदै आएको थियो । लगातार नतिजा खस्किनु र नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत गुम्ने खतरा भएपछि प्रशिक्षक प्रभाकरले भारतबाटै राजीनामा पठाउनुभएको हो ।

नामिबिया भ्रमण सकेर काठमाडौं आउनुभएका प्रभाकर गत सोमबार भारत जानुभएको थियो । भारतीय पूर्व क्रिकेटर प्रभाकरसँग क्यानले एक वर्षको लागि सम्झौता गरेको थियो । तर, गत साउनमा नेपाली टोलीको प्रशिक्षक बन्नुभएका प्रभाकरले बीचैमा पद छाड्नुभएको छ ।